काठमाडौ ।
नेपालीहरूको महान् पर्व बडा दसैँको पावन अवसरमा प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मकाउको आयोजनामा भव्यताका साथ “सामूहिक दसैँ आपसी टीका तथा जमरा” कार्यक्रम सम्पन्न भएको छ।
आफ्नो धर्म, मौलिक संस्कृति, परम्परा र नेपाली पहिचानको जगेर्ना गर्ने उद्देश्यका साथ मकाउमा बसोबास गर्ने नेपालीहरूबीच एकापसमा खुसी साटासाट गर्दै यो कार्यक्रम मनाइएको हो। प्रवासी नेपाली मञ्च मकाउका अध्यक्ष रोजन लामाको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।
मकाउस्थित ‘एशियन फुड रेष्टुरेन्ट’ (Asian Food Restaurant) मा आयोजित उक्त सामूहिक टीका-जमरा कार्यक्रममा मकाउमा रहेका थुप्रै प्रवासी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले मान्यजन तथा अग्रजहरूको हातबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्दै आपसमा शुभकामना आदानप्रदान गरेका थिए।
प्रवासी नेपाली मंचकाे अध्यक्ष निर्वाचित भएपछि अध्यक्ष राेजन लामाकाे पहिलाे कार्यक्रम सामुहिक दशैँ र टीका भव्य र सभ्य रुपमा सम्पन्न भएकाे हाे ।
परदेशको व्यस्त जीवन र घरपरिवारभन्दा टाढा रहे पनि आफ्नै गाउँ-घर र देशको जस्तै सांस्कृतिक वातावरण सिर्जना गरी दसैँ मनाउन पाउँदा उपस्थित नेपालीहरू अति नै हर्षित र उत्साहित देखिन्थे।
प्रवासी नेपाली मञ्च मकाउका अध्यक्ष रोजन लामाले आफ्ना मौलिक चाडपर्वहरूलाई परदेशमा पनि निरन्तरता दिँदै नेपाली संस्कृति, आपसी सद्भाव र एकतालाई जीवन्त राख्न यस्ता कार्यक्रमहरूले ठूलो योगदान पुर्याउने बताउनुभयो। कार्यक्रममा सहभागी सबैले यस्ता सामूहिक सांस्कृतिक भेलाले एकापसमा भ्रातृत्व र आत्मीयता बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।