भोटेकोशीमा फेरि बाढीको चेतावनी, धादिङ प्रशासनद्वारा नागरिकलाई सुरक्षित रहन आग्रह

भोटेकोशीमा फेरि बाढीको चेतावनी, धादिङ प्रशासनद्वारा नागरिकलाई सुरक्षित रहन आग्रह

  • Kandara Samachar

  • बिहिबार, भदौ ११, २०८३

  • 90
    SHARES
भोटेकोशीमा फेरि बाढीको चेतावनी, धादिङ प्रशासनद्वारा नागरिकलाई सुरक्षित रहन आग्रह

धादिङ ।

चीनतर्फ भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा नदी थुनिएर ठूलो ताल बनेपछि नेपालमा भोटेकोशी नदीमा पुनः बाढीको जोखिम बढेको छ। चीनको जलस्रोत मन्त्रालयले छोछेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक ठूलो ‘ब्यारियर लेक’ बनेको र त्यसमा पानीको मात्रा निरन्तर बढिरहेको जनाएको छ।

चीनको जलस्रोत मन्त्रालयका अनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको छ। तालबाट पानी बाहिरिनसमेत थालेको जनाइएको छ। आगामी केही दिनमा थप पानी जम्मा हुने सम्भावना रहेकाले ताल फुटेर ठूलो मात्रामा पानी एक्कासि तलतर्फ बग्न सक्ने जोखिम रहेको चिनियाँ पक्षले जनाएको छ।

चिनियाँ पक्षबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त सूचनाका आधारमा नेपालका सम्बन्धित निकायले समेत भोटेकोशी नदी आसपास उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणका आधारमा भाद्र १० गते बाढी आएको स्थानमै नदी थुनिएर ताल बनेको पाइएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बिहीबार दिउँसो जारी गरेको विशेष सूचनामा उक्त ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिमसमेत देखिएको उल्लेख गरेको छ। अर्को सूचना जारी नहुँदासम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धारमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन र सम्भावित विपद्का बेला उद्धार तथा सुरक्षा निकायसँग समन्वय गर्नसमेत अनुरोध गरेको छ।

छोछेन र पुरेपू मिसिएपछि भोटेकोशी

चीनतर्फबाट आउने छोछेन खोला र पुरेपू त्साङ्पो नदी नेपाल प्रवेश गर्नुअघि एकआपसमा मिसिन्छन्। यी नदी नेपाल प्रवेश गरेपछि भोटेकोशीका रूपमा बग्छन्। भोटेकोशी त्रिशूली नदीको प्रमुख माथिल्लो सहायक नदी भएकाले माथिल्लो क्षेत्रमा नदीको बहावमा आउने ठूलो परिवर्तनले नेपालतर्फका तल्लो तटीय क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्न सक्छ।

चीनको जलस्रोत मन्त्रालयले तालको अवस्था निरन्तर निगरानी गरिरहेको जनाएको छ। सम्भावित ताल फुट्दा पानीको बहाव कस्तो हुन सक्छ भन्नेबारे बाढीको प्रभावसम्बन्धी नमुना तथा पूर्वानुमान तयार पार्ने कामसमेत भइरहेको जनाइएको छ।

 

चीनतर्फ बनेको ताल फुट्ने सम्भावना र भोटेकोशीमा एक्कासि पानीको बहाव बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै नदी किनारमा बसोबास गर्ने नागरिक, यात्रु लाई  विशेष सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गरेकाे छ ।

प्रशासनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान, नदीको बहाव हेर्न वा अवस्था बुझ्न नदी किनारमा भीड नगर्न र आवश्यक परे तत्काल सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेको छ।

सम्भावित ताल फुटेर ठूलो बहाव आएमा भोटेकोशी हुँदै त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा समेत असर पर्न सक्ने भएकाले आगामी सूचना नआएसम्म उच्च सतर्कता आवश्यक देखिएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar