शर्मिला तिमल्सिनाको गजल सङ्ग्रह ‘रहर जिन्दगीको’ विमोचन

शर्मिला तिमल्सिनाको गजल सङ्ग्रह ‘रहर जिन्दगीको’ विमोचन

  • Kandara Samachar

  • आइतवार, मंसिर २९, २०८२

  • 64
    SHARES
शर्मिला तिमल्सिनाको गजल सङ्ग्रह ‘रहर जिन्दगीको’ विमोचन

काठमाडौँ

शर्मिला तिमल्सिनाद्वारा रचित गजल सङ्ग्रह ‘रहर जिन्दगीको’ शनिबार काठमाडौँमा विमोचन गरिएको छ।

कागेश्वरी मनोहरा नगरपालिका–६, ग्रीनहिल सिटीस्थित शिव पाञ्चायन मन्दिर परिसरमा आयोजित अभिनव साहित्य समाजको २८६औँ शृङ्खलाअन्तर्गत सङ्ग्रहको लोकार्पणसँगै नियमित कवि गोष्ठी सम्पन्न भएको हो।

साे अवसरमा यस वर्षको बद्रीनाथ अभिनव छन्दोबद्ध कविता साधक पुरस्कार इलामका साहित्यकार गङ्गाप्रसाद अधिकारी ‘खोलाघरे साहिँलो’ लाई प्रदान गरिएको छ। सोही स्थानमा बिहान ११ बजेदेखि छन्द कविता लेखन तथा वाचन प्रशिक्षणमा सहभागी शिक्षकहरूबीच छन्द कविता वाचन प्रतियोगिता पनि आयोजना गरिएको थियो। प्रतियोगितामा सहभागीमध्ये उत्कृष्ट पाँच जनालाई नगदसहित पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले साहित्यले समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै साहित्यकारहरू नै समाजका मार्ग निर्देशक भएको बताउनुभयो। साहित्यिक क्षेत्रमा परिवर्तन देखिए पनि पछिल्लो समय कृत्रिम बुद्धिमत्ता (एआई) ले प्रभाव जमाउन थालेको प्रसङ्ग उठाउँदै उहाँले देशलाई सही दिशामा ल्याउन सर्जकहरू साहित्यमार्फत सक्रिय हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।

गजल सङ्ग्रहबारे टिप्पणी गर्दै अभिनव साहित्य समाजका सचिव परशुराम परासरले ‘रहर जिन्दगीको’ बहारमा लेखिएका गजलहरूको सङ्ग्रह भएको बताउनुभयो। गजल केवल वाचनका लागि मात्र नभई गेयात्मक विधा भएकाले सहज रूपमा गाउन सकिने र यस सङ्ग्रहमा शृङ्गारिक विषयसँगै राजनीतिक झुट, संसदीय खेल, नारीवादी चेतना तथा सामाजिक र समसामयिक विषय समेटिएका गजलहरू समावेश गरिएको उहाँको भनाइ थियो।

गजलकार शर्मिला तिमल्सिनाले मातापिता, गुरु, अग्रज तथा अनुजको प्रेरणाबाट ‘रहर जिन्दगीको’ गजल सङ्ग्रह तयार भएको बताउनुभयो। विभिन्न पाठशालामा अभ्यास गरिएका विषयवस्तु समेटेर तयार गरिएको यस सङ्ग्रहमा ८५ वटा गजल समावेश गरिएको उहाँले जानकारी दिनुभयो। यो कृति आफ्नो गजल लेखन यात्राको प्रारम्भिक चरणमा लेखिएका गजलहरूको सङ्ग्रह भएको उल्लेख गर्दै वि.सं. २०६० फागुन १८ गते गोरखापत्रमा प्रकाशित ‘धादिङकी पिण्डेश्वरीदेवी’ शीर्षकको लेखपछि साहित्यिक यात्रामा ऊर्जा थपिएको अनुभव उहाँले सुनाउनुभयो।

कार्यक्रम समापनका क्रममा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन गर्दै संस्था अघि बढिरहेको बताउँदै बद्रीनाथ छन्दोबद्ध कविता साधक पुरस्कार गङ्गाप्रसाद अधिकारी खोलाघरे साहिँलोलाई प्रदान गरिएको जानकारी दिनुभयो।

कवि गोष्ठीमा शान्ति रिसाल, पुनम मिश्र, उत्तम भेटवाल, ध्रुव गजुरेल, बासु पौडेल, मेनुका आचार्यलगायतले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar