 
                                                                                                      खनियाबास गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन
धादिङ ।
उत्तरी धादिङकाे खनियाबास गाउँपालिकामा नवनिर्मित गाउँपालिका भवनको शनिबार एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ।
खनियाबास गाउँ पालिका वडा नम्बर ३ दार्खाचाैकीमामा निर्माण गरिएकाे भवनकाे भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्दै ग्रामीण तहमा पूर्वाधार विकासमार्फत जनतासँगको सेवा पहुँच सहज बनाउने अभियान अन्तर्गत यो भवन एक महत्वपूर्ण उपलब्धि भएको बताउनु भयो।
स्थानीय सरकारहरूलाई मजबुत बनाउन यस्ता पूर्वाधारले ठूलो टेवा उल्लेख गर्दै मन्त्री सिंहले जनताको सेवा प्रवाहमा समेत गुणात्मक सुधार ल्याउनुपर्ने बताउनुभयाे ।
गाउँपालिकाको भवन अत्याधुनिक प्रविधियुक्त सुविधासहित निर्माण गरिएको छ। भवनमा प्रशासनिक कार्य सञ्चालनका लागि कार्यालय कक्ष, सभाकक्ष, सूचना कक्ष, र नागरिक सेवाका अन्य आवश्यक सुविधाहरू समेटिएको गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले जानकारी दिनुभयो।
भवन उद्घाटन कार्यक्रममा पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका नेता दिलमान पाख्रिन, प्रदेशसभा सदस्यहरू डम्वर बहादुर तामाङ, शिवराज अधिकारी, विभिन्न गाउँपालिकाका अध्यक्षहरु, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी, कर्मचारी तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।
कूल २ कराेड ७५ लाखकाे लागतमा निर्माण सम्पन्न भएकाे भवन जिल्ला समन्वय समिति धादिङकाे ६० र गाउँपालिकाकाे ४० प्रतिशत लगानी रहेकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छाेइसाङ तामाङले बताउनु भयाे ।
 
                     
                             
                                                     
                                                     
                                                     
                                                     
                                                    