धादिङबेसीमा ‘सकारात्मक सोच, उज्ज्वल भविष्य’ विषयक प्रशिक्षण सम्पन्न

धादिङबेसीमा ‘सकारात्मक सोच, उज्ज्वल भविष्य’ विषयक प्रशिक्षण सम्पन्न

  • Kandara Samachar

  • बिहिबार, माघ ३०, २०८२

  • 15
    SHARES
धादिङबेसीमा ‘सकारात्मक सोच, उज्ज्वल भविष्य’ विषयक प्रशिक्षण सम्पन्न
oplus_2

धादिङ
ब्रम्हकुमारी राजयोग सेवाकेन्द्र धादिङबेसीको आयोजनामा ‘सकारात्मक सोच, उज्ज्वल भविष्य’ विषयक कार्यक्रम बिहीबार बिहान प्रयोगात्मक प्रशिक्षणसहित सम्पन्न भएको छ। जीवनमा सकारात्मक सोचको विकासमार्फत व्यक्तित्व रूपान्तरण र उज्ज्वल भविष्य निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा प्रशिक्षक ब्रम्हकुमार विजयराज सिग्देलले मानिसमा उत्पन्न हुने नकारात्मक सोच, तनाव र चिन्तालाई योग तथा ध्यानको माध्यमबाट हटाउन सकिने बताउनुभयो। उहाँले सकारात्मक विचारको प्रवाहले आत्मविश्वास वृद्धि हुनुका साथै पारिवारिक, सामाजिक र व्यावसायिक जीवनमा पनि सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो। “विचार नै भाग्यको निर्माणकर्ता हो, त्यसैले सोच परिवर्तन भयो भने जीवन परिवर्तन हुन्छ,” उहाँको भनाइ थियो।

ब्रम्हकुमारी नन्दा पाैडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले उद्घाटन गर्नुभएको थियो।

कार्यक्रममा मानिसको मस्तिष्क, मुटु र मन स्वच्छ र शुद्ध भएमा मात्र साँचो सुख प्राप्त हुने विषयमा चर्चा गरिएको थियो। सहभागीहरूलाई प्रयोगात्मक रूपमा राजयोग ध्यान र सरल योग अभ्यास गराइएको थियो, जसबाट मानसिक शान्ति, एकाग्रता र आत्मचेतना अभिवृद्धि गर्ने अभ्यास गराइएको आयोजकले जनाएको छ।

उक्त कार्यक्रममा नागरिक समाजका अगुवा, सुरक्षा निकायका प्रतिनिधि, विभिन्न संघ–संस्थाका पदाधिकारी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागिहरूले कार्यक्रम उपयोगी र प्रेरणादायी रहेको प्रतिक्रिया दिएका छन्।

आयोजक संस्थाले भविष्यमा पनि यस्ता सकारात्मक सोच र आध्यात्मिक चेतना अभिवृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar