अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार, नयाँ कार्यसमिति चयन हुने

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार, नयाँ कार्यसमिति चयन हुने

  • Kandara Samachar

  • शुक्रबार, अशोज ३०, २०८३

  • 60
    SHARES
अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार, नयाँ कार्यसमिति चयन हुने

धादिङ ।

अन्तर्राष्ट्रिय धादिङ समाज (आईडीएस) को चौथो अन्तर्राष्ट्रिय महाधिवेशन शनिबार  अक्टोबर १७ (असोज ३१) गते धादिङबेसीमा हुने भएको छ। महाधिवेशनले सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ अन्तर्राष्ट्रिय कार्यसमिति निर्वाचित गर्नेछ।

महाधिवेशनसँगै नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज अक्टोबर १६ बिहान ७ः१५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ। त्यसपछि मतदाता नामावलीमाथि दाबी–विरोध, छानबिन, उम्मेदवारी दर्ता, उम्मेदवारको नामावली प्रकाशन तथा उम्मेदवारी फिर्तालगायतका प्रक्रिया पूरा गरिनेछ। निर्वाचन समितिले तोकेको समयभित्र अन्तिम उम्मेदवारको सूची सार्वजनिक गरिनेछ।

महाधिवेशनकाे अबसरमा पहिलाे स्मारिका प्रकाशनकाे सार्वजनिक गरिने छ भने २३ देशका शाखाहरुबाट धादिङबासीकाे जमघट साथै आगामी कार्यदिसा तय गरिने अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले बताउनुभयाे ।

 

उम्मेदवारी दर्ताका क्रममा पासपोर्ट, अन्तर्राष्ट्रिय ड्राइभिङ लाइसेन्स वा रेसिडेन्स परमिटमध्ये कुनै एक कागजातको प्रतिलिपि र तोकिएको शुल्क बुझाउनुपर्ने निर्वाचन समितिले जनाएको छ। अध्यक्ष पदका लागि ७५ हजार रुपैयाँ, वरिष्ठ उपाध्यक्षका लागि ५० हजार, उपाध्यक्षका लागि ४० हजार र महासचिवका लागि ३० हजार रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको छ। अन्य पदका लागि पनि छुट्टाछुट्टै शुल्क तोकिएको छ। एकपटक बुझाइएको उम्मेदवारी शुल्क फिर्ता नहुने व्यवस्था गरिएको छ।

अध्यक्ष पदमा उम्मेदवारी दिन संस्थाको केन्द्रीय तहमा कम्तीमा एक कार्यकाल पदाधिकारीका रूपमा काम गरेको हुनुपर्ने व्यवस्था छ। त्यस्तै, युवा संयोजक पदमा उम्मेदवारी दिन ४० वर्ष उमेर ननाघेको हुनुपर्नेछ। निर्वाचनलाई मर्यादित र व्यवस्थित बनाउन समूह वा प्यानल बनाएर चुनाव लड्न तथा प्यानलका आधारमा मत माग्न नपाइने व्यवस्था गरिएको छ। निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएमा उम्मेदवारको उम्मेदवारी रद्द गर्न सकिने प्रावधानसमेत राखिएको छ।

विश्वका विभिन्न देशमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै सामाजिक सहकार्य र जिल्लाको विकासमा योगदान पुर्‍याउने उद्देश्यले स्थापित अन्तर्राष्ट्रिय धादिङ समाजको नयाँ नेतृत्व चयनलाई महाधिवेशनको महत्त्वपूर्ण पक्षका रूपमा हेरिएको छ। नयाँ कार्यसमितिले आगामी दुई वर्ष संस्थाको नेतृत्व गर्दै विभिन्न गतिविधि सञ्चालन गर्नेछ।

निर्वाचनसम्बन्धी थप जानकारीका लागि निर्वाचन समिति संयोजक अधिवक्ता विश्वराज अधिकारीलाई ९८५११११५०० मा सम्पर्क गर्न सकिनेछ। साथै, संस्थाको वेबसाइट intldhadingsociety.org र electionids2026@gmail.com मार्फत पनि आवश्यक जानकारी लिन सकिने जनाइएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar