
काठमाडौं ।
जेनजी आन्दोलनको अग्रभागमा रहेर प्रहरीसँग विवाद गरेका एकजना भाइरल युवा आफूलाई जन्म दिने आमाको बीभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका छन् ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल जिरेले ५५ वर्षीया आमा राममाया कँडेलको हत्या गरेका हुन् ।
यमबहादुरले आइतबार राति धारिलो हतियारबाट आमाको हत्या गरेको अनुसन्धानका क्रममा पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालले बताए ।
यमबहादुर भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका भिडिओहरूमा निकै भाइरल भएका थिए । ‘मेरो आँखामा डर छ ? ल हेर्नुस् म डराएको छु? म मलाई गोली हानेर मार्नुस्, म यो देश रोएको देख्न सक्दिन’ जस्ता डाइलग भिडिओमा बोलेका तीनै युवाले आमाको हत्या गरेर सिङ्गै गाउँलाई रुवाएका छन् ।
उनले आन्दाेलनका दिन सुरक्षाकर्मीसँग यस्ताे भनेका थिए
‘महिनामा एक लाखसम्म कमाउने युवा हो तर मलाई कहिलै पनि चैनको निद्रा लाग्दैन । सर मेरो आँखामा डर छ ? म बोलिराछु जान्न । ठोक्नुस् न मेरो छातीमा गोली ठोक्नुस् । मैले भनिराछु त मेरो आँखामा डर छ ? एक इन्च डर छ मेरो आँखामा ? डर छ सर ? (पटक-पटक दोहोर्याए ।) म वान म्यान आर्मी हो । भारतीय र अमेरिकी पुजीँवाद दलाल र यो देशका दलालसँग एक्लै लड्न सक्ने क्यापिसीटी छ मसँग। त्यसैले तपाँइहरू पनि बेलैमा जनताका लागि सोच्नुस् । तपाईँहरुको आफ्ना आमाबुबा र देशको बारेमा सोच्नुस् । ठोक्ने भए गोली ठोक्नू । मार्ने भए मार्नू आनन्द त आउँछ । देशको बारेमा सोच्नै परेन । मेरो आत्मा भगवानले लानु हुन्छ । जिउँदो भए त देशको चिन्ता र तपाईँको आत्माले गर्दा सुत्नै सक्दैन ।’
(नेपाल प्रेस डटकम)