धादिङ।
नेपाली कांग्रेस धादिङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश धमलाले त्रिपुरासुन्दरी गाउँपालिका–१ र २ मा घरदैलो तथा अन्तरसंवाद कार्यक्रम सम्पन्न गर्नुभएको छ।
घरदैलो कार्यक्रमका क्रममा स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै धमलाले जनताको आवाज, समस्या र आवश्यकतालाई संसद्सम्म सशक्त रूपमा पुर्याउने प्रतिबद्धता जनाउनुभयो। शिक्षा सुधार, स्वास्थ्य बीमा कार्यक्रमको विस्तार तथा रोजगारी सिर्जना आफ्नो प्रमुख एजेन्डा रहेको उहाँले स्पष्ट पार्नुभयो।
उहाँले कृषि आधुनिकीकरण र पर्यटन प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने योजना अघि सार्दै विकास र समृद्धिका लागि समन्वित पहल गर्ने बताउनुभयो। साथै बुढीगण्डकी जलविद्युत आयोजनालाई उच्च प्राथमिकतामा राखेर संसद्मा प्रभावकारी आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाली कांग्रेस धादिङका जिल्ला सभापति रामनाथ अधिकारी, नीलकण्ठ नगरपालिका प्रमुख भीमप्रसाद ढुङ्गाना, क्षेत्रीय सभापति राकेश धमला, त्रिपुरासुन्दरी गाउँपालिका सभापति राजु उप्रेतीलगायत नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।