धादिङ ।
प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र बन्दै जाँदा श्रम संस्कृति पार्टीले धादिङमा उम्मेदवार सार्वजनिक गर्दै चुनावी प्रतिस्पर्धामा औपचारिक प्रवेश गरेको छ।
आइतबार धादिङबेसीमा आयोजित पत्रकार सम्मेलनमार्फत धादिङ क्षेत्र नं. १ बाट प्रलाद सिलवाल र क्षेत्र नं. २ बाट टासी लामा तामाङलाई उम्मेदवार घोषणा गरेको हो।
पार्टीका जिल्ला नेताहरूले स्थानीय विकास, जनसरोकारका मुद्दा र पारदर्शी शासनलाई केन्द्रमा राखेर जनतामुखी राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “धादिङवासीको सेवामा समर्पित भएर काम गर्ने उद्देश्यका साथ उम्मेदवार अघि सारिएको हो,” उम्मेदवारहरुकाे भनाइ छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पार्टीले जिल्लामा संगठन विस्तार र जनसम्पर्क अभियानलाई तीव्र बनाएको जनाएको छ। यससँगै धादिङमा परम्परागत दलसँगै नयाँ शक्तिको उपस्थितिले राजनीतिक वातावरण थप प्रतिस्पर्धात्मक बन्दै गएको छ।
श्रम संस्कृति पार्टीले आफूलाई जनमुखी र श्रममा आधारित राजनीतिक संस्कृतिको प्रवर्तकका रूपमा प्रस्तुत गर्दै मतदाताको विश्वास जित्ने प्रयास गरिरहेको छ।