
धादिङ ।
राजधानीकाे लाइफलाइन मानिएकाे पृथ्वी राजमार्ग यात्रा वर्षाकाे सुरुभएसंगै यात्रा कष्टकर भएकाे छ ।
यात्रुकालागि कष्टकर भएकाे यात्रा सहज बनाउने उद्येश्यले जोखिमयुक्त स्थानहरुको अनुगमन गरिएको छ ।
राजमार्गको घुम्तीघुम्तीमा झरेको पहिराले यात्रा जोखिमपूर्ण बनेको छ ।अघिल्ला वर्षमा त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा खण्डमा पर्ने झ्याप्ले खोलामा नसोचेको मानवीय क्षति भयो । एउटै पहिरोमा ३५ जनाले ज्यान गुमाउनुपर्यो । झण्डै दर्जन सवारीसाधनले क्षति व्यहोर्नुपर्यो । यस वर्ष त्यस्ता क्षति रोकथाम गर्ने उद्देश्यले अनुगमन गरिएको हो ।
जिल्ला समन्वय समिति धादिङको अगुवाइमा भएको अनुगमनमा धादिङका प्रमुख जिल्ला अघिकारीसहित सुरक्षा निकायका प्रमुखहरु र नागढुंगा मुग्लिन सडक विस्तार आयोजनाका प्रमुखहरुले जोखिमयुक्त स्थानहरुको स्थलगन निरिक्षण गरेका छन् । अनुगमनको क्रममा विस्तारको क्रममा भइरहेको गतिविधि र आइपरेका समस्या र चुनौतिहरुबारे छलफल पनि गरिएको छ । पहिरो झर्ने र जमिन भासिने संभावित स्थानहरुमा बर्खाभर सडक विस्तारको काम नर्गने र विस्तार भइरहेको स्थानहरुमा पनि उच्च सावधानी अपनाएर सवारी संचालन गर्ने आयोजना प्रमुखहरुसँग सहमति भएको जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो ।
वर्षातको समय सुरु हुँदै गर्दा पहिराले पृथ्वी राजमार्गको अधिकांश स्थानमा क्षति पुगेको छ,कतै सडक पुरिएका छन्भने कतै छेउ भासिएका छन् ।
विपद परेको बेला तत्काल सहयोग गर्नका लागि आवश्यक सबै तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
भौगोलिक हिसावले पृथ्वी राजमार्गको ठाउँ ठाउँमा खोला, खोल्साहरु छन् । विस्तारको क्रममा भत्काइएका भित्ताहरु पहिरिने खतरा पनि उस्तै छ । वर्षात भइरहेको बेला त्यस्ता विपदजन्य जोखिम रहेको स्थानहरुमा सवारी आवागनमा रोक लगाउन र जोखिम पहिचान गरेपछि मात्रै सवारी संचालन गर्न प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सम्बन्धित सरोकारवालाहरुलाई निर्देशन दिनुभको छ । निर्माणधिन सडकमा रहेका खाल्डाखुल्डीहरु तत्काल पुर्न, नालाहरु बनिरहेको स्थानमा पानी निकासको व्यवस्था मिलाउन र सडक संकेत चिन्ह थप गर्न विस्तार आयोजनालाई भनिएको र समन्वयमा काम गरिरहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।
त्रिभुवन राजपथको नागढुंगा नौबिसे सडक, पृथ्वी राजमार्गको नौबिसे मुग्लिन सडकमा अहिले धमाधम विस्तारको काम भइरहेको छ । कमजोर भौगोलिक धरातल भएकोले वर्षातको समयमा सडकमाथि भित्ताबाट खसेका गेग्रान ढुङ्गा, नाली थुनिएर सडकमा बगेको पानी, पन्छाउँदै गरेको पहिराले साना सवारी र दुईपाङ्ग्रे सवारीलाई जोखिमपूर्ण छ । दुईपाङ्ग्रे सवारीलाई भने निकै कष्ट छ । निरन्तर पहिरा जाने क्रम रहेकाले पनि सवारी चालक र यात्रु यात्रामा ढुक्क छैनन् आयोजनाका प्रमुखहरुले बताएका छन् । अति व्यस्त राजमार्गमा सडक विस्तार तथा पुल निर्माणको लागि सवारी साधनहरुलाई सुचारु राख्दै निर्माणको कार्य गर्नु चुनौतिपूर्ण रहेकोले पनि विस्तारको काममा अपेक्षित प्रगति हासिल गर्न कठिनाई रहेको उनीहरुको भनाई छ ।
सडक दुर्घटनाबाट हुने क्षति कम गर्न सबैक्षेत्र र निकायको समन्वय अनिवार्य देखिन्छ ।