
धादिङ ।
युवाहरु राजनीतिलाई फोहोरी खेल भनेर यसलाई वितृष्णा जनाइरहेको समयमा सिद्धलेक गाउँपालिका वडा नम्बर १ स्थित मिन्दुका माविले संघ, प्रदेश र स्थानीइ तहको झल्को दिनेगरि निर्वाचन गर्दैप्रकृया र विधिहरुबारे जानकारी दिएको छ ।
शुक्रबार भएको निर्वाचनमा विद्यालयको नायक सह नायक निर्वाचनलाई संघीय निर्वाचन, चार ओटा हाउस निर्वाचनलाई प्रदेश निर्वाचन र कक्षाको नायक निर्वाचनलाई स्थानीइ निर्वाचनको रुपमा बुझाउन खोजिएको छ ।
शुक्रबार विद्यालय नायक र सहनायक तथा चार हाउसको निर्वाचन भएको थियो ।
विद्यालय नायकमा जतन घलेले खसेको १ सय ८४ मतमध्ये ९३ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नवराज सिलवालले ८४ मत ल्याउनुभएको थियो । मतदानमा ११ मत बदर भएको थियो ।
विद्यालय सहनायकमा सपना थापामगर विजयी हुनुभयो ।
रातो हाउनसको नायकमा पुनम गुरुङ, सहनायकमा निरज श्रेष्ठ, हरियो हाउसको नायकमा एलिना थपलिया, सहनायकमा निश्चल तामाङ, निलो हाउसको नायकमा इला तामाङ र सहनायकमा दिपेश श्रेष्ठ र पँहेलो हाउसको नायकमा रमा श्रेष्ठ र सहनायकमा कमल प्रसाद पौडेल निर्वाचित हुनु भएको विद्यालयका प्रधानाध्यापक जनार्दन नेपालले बताउनुभयो ।
सरकारले गराउने संम्सदीय निर्वाचनमा मतदाता नामावली प्रकाशन, उम्मेदवारको मनोनयन दर्ता, निर्वाचन कार्यक्रम प्रकाशन, उम्मेदवारहरुको निर्वाचन प्रचारप्रसार, मतदाता शिक्षा, मतदानको समयमा महिला पुरुष छुट्टाछुट्टै लाइन, म्यादी प्रहरीको व्यवस्था, निर्वाचनको समयमा हुने विवाद र यसको समाधानका लागि सुरक्षाकर्मी परिचालन, निर्वाचन आचार संहिता, मदातन र मतगणना, मत परिणाम सार्वजनिक र मत परिणाम घोषणा जस्ता क्रियाकलाप गरिएको थियो ।
पाठ्यक्रम तथा पाठ्पुस्तक भएका सैद्धान्तिक विषय हरुलाई व्यवहारीक ज्ञान दिने उद्देश्य अनुसार विद्यार्थीहरुलाई मतदाता शिक्षा व्यवहारमा सिकाउन र निर्वाचन प्रणालीबारे व्यवहारिक बुझाउनका लागि मतदान अभ्यास गराईएकाे प्रधानाध्यापक नेपालको भनाइ छ ।
निर्वाचन परिणाम घोषणापछि विद्यालय नायकलाई घोषणापत्र अनुसारको प्रतिवद्धता मन्तव्य समेत राख्न दिइएको थियो । मत परिणाम घोषणा कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक नेपालले गर्नुभएको थियो भने नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा विद्यालय व्यबस्थापन समितिका अध्यक्ष चन्द्र प्रसाद सिलवालले सैद्धान्तिक रूपमा सिकेका विषयलाई व्यावहारिक प्रयोगात्मक ढंग बाट सिक्दा सिकाइ दिगो र फल्दाई हुने बताउँदै कार्यक्रम सफलताको शुभ कामना दिनु भएको थियो