पर्वतारोहण र हिमाल आरोहणलाई सहज बनाउन सरकारले काम गरिरहेको छ ः प्रधानमन्त्री ओली

पर्वतारोहण र हिमाल आरोहणलाई सहज बनाउन सरकारले काम गरिरहेको छ ः प्रधानमन्त्री ओली

  • Kandara Samachar

  • मङ्लबार, जेष्ठ २१, २०८२

  • 81
    SHARES
पर्वतारोहण र हिमाल आरोहणलाई सहज बनाउन सरकारले काम गरिरहेको छ ः प्रधानमन्त्री ओली

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले पर्वतारोहण र हिमाल आरोहणलाई सहज बनाउन सरकारले काम गरिरहेको बताउनुभएको छ । अन्नपूर्ण हिमाल आरोहणको ७५औं वार्षिकोत्सव तथा हिरक महोत्सवको अवसरमा मङ्गलवार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा आयोजित एक समारोहको उद्घाटन गर्दै पर्वतारोहण क्षेत्रको विकासका काम भैरहेको बताउनुभएको हो ।

नेपालमा रहेका हिमालय क्षेत्रमा हुने पर्वतारोहण र हिमाल आरोहणलाई कम जोखिमयुक्त बनाउन वर्तमान सरकार लागिपरेको प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले सरकारले पर्वतारोहणलाई सुरक्षित र भरपर्दो बनाउन तथा हिमाल आरोहीहरुको आकर्षण बढाउनको लागि आधारशिविर लगायतका क्षेत्रहरुमा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अन्नपूर्ण प्रथम हिमाल आरोहणले नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वसामु चिनाएको बताउँदै विश्वको दशौं अग्लो ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोहण गरेर मौरिस हर्जोगलगायत नेपाली पर्वतारोहीले बहादुरी प्रदर्शन गरी हिमाल आरोहणको सुरुवात गरेको बताउनुभयो । उहाँले अन्नपूर्ण हिमालको पहिलो आरोही मौरिस हर्जोगका कारण फ्रान्स र नेपालबीच मित्रताको सम्बन्ध स्थापित भएको समेत बताउनुभयो ।

तत्कालीन मौरिस हर्जोगले आरोहण गरेको क्षेत्रमै अन्नपूर्ण हीरक महोत्सवको आयोजनाले पर्वतारोहण र पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो । अन्नपूर्ण रेन्जमा थुप्रै हिमाल र आकर्षक पर्यटकीय गन्तब्यहरु भएको बताउँदै उहाँले अन्नपूर्ण क्षेत्रमा रहेका सुन्दर हिमालहरु, झरना र पर्यटकीय स्थलहरुले राष्ट्रिय उन्नतिमा समेत टेवा पु¥याएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अन्नपूर्ण क्षेत्रमा सुरुङमार्ग, केबलकार, जलविद्युतको विकास र धार्मिक पर्यटनको विकास गरेर समृद्धि हासिल गर्न सकिने बताउँदै मुस्ताङको मुक्तिनाथ, दामोदरकुण्ड र लोमान्थाङ पर्यटकीय स्थलहरु भएकाले यसको विकास गरेर थप पर्यटन भिœयाउन सकिनेमा जोड दिनुभयो । सरकारले कालीगण्डकी करिडोर अन्तर्गत पर्ने बेनी–जोमसोम–कोरला सडकको स्तरोन्नति र कोरला नाकामा आवश्यक पूर्वाधार निर्माणलाई जोड दिएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डले पर्यटकीय क्षेत्रलक्षित पर्यटन नीति र पर्यटन ऐनलाई सरकारले चाँडै ल्याउन लागेको बताउनुभयो । उहाँले नेपालको पर्वतारोहण र पर्यटन क्षेत्रको विकासका लागि सरकारले ल्याउन लागेको ऐनले सहयोग पुग्ने बताउँदै आरोहण कल्याण कोषको स्थापना गरेर पर्वतारोहण क्षेत्रमा लागेका आरोही र पर्वतारोहीलाई सरकारले सहयोग गर्ने जानकारी दिनुभयो ।

सोही कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा, नेपालका लागि फ्रान्सका राजदुत भिर्जिनी कोर्ताभाल, गण्डकी प्रदेशका पर्यटन तथा उद्योग मन्त्री मित्रलाल बत्स्याल र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आजभन्दा ७५ वर्ष पहिला अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेर मौरिस हर्जोगले नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वमा चिनाउनुका साथै हिमाल आरोहणका क्षेत्रको विकासमा सहयोग पु¥याएको बताउनुभएको थियो ।

सन् १९५० जुन ३ तारिख अर्थात् आजैको दिन पहिलोपटक ८ हजार मिटरभन्दा अग्लो अन्नपूर्ण प्रथम हिमालमा मानव पाइला परेको थियो । सगरमाथा हिमालको आरोहणभन्दा ३ वर्ष पहिले फ्रान्सेली नागरिक मौरिस हर्जोग र लुईस लचेनलले पाइला टेकेपछि विश्वका ८ हजार मिटर अग्ला हिमालमा पहिलोपटक आरोहणको आरम्भ भएको हो । अहिले अन्नपूर्ण प्रथमको आधारशिविर जाने पदमार्गलाई मौरिस हर्जोग पदमार्ग नामकरण गरिएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar