
धादिङ ।
गल्छी गाउँपालिका–५ अन्तर्गतका वन समूहहरूबीच अन्तरक्रिया तथा समन्वय बैठक सम्पन्न भएको छ। मिति २०८२ बैशाख २७ गते सम्पन्न उक्त बैठकमा २०७२ सालको विनाशकारी भूकम्प र पछिल्लो कोभिड-१९ लकडाउन यता सम्पर्कविहीन तथा निष्क्रिय बनेका वन समूहहरूको पुनर्सक्रियता, कार्ययोजना नवीकरण, वन संरक्षण तथा सामुदायिक सचेतनाका विषयमा विस्तृत छलफल भएको थियो ।
बैठकमा सहभागी १७ निष्क्रिय समूहहरूमध्ये १५ वटा समूहका प्रतिनिधिहरू गरी कुल २५ जना सहभागी थिए। बैठकमा फिल्ड सर्भे गर्ने मिति तय गरिएको छ भने केही समूहमा नयाँ कार्यसमिति गठन तथा पुनर्गठन आवश्यक रहेको निष्कर्ष निकाल्दै आवश्यक समूहहरूमा भेलाको आयोजना गर्ने निर्णय पनि गरिएको छ।
कार्यक्रममा सहभागीहरूले वन संरक्षणमा पूर्ण प्रतिबद्धता जनाउँदै स्थानीय तह र वन समूहबीचको समन्वयलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
उक्त कार्यक्रमको सहजीकरण गल्छी गाउँपालिका–५ का वडाध्यक्ष सरोज लामा तामाङ, बैरेनी सवडिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत हेम चन्द्र महतो तथा वनरक्षक शेर बहादुर पालले गर्नुभएको थियो।