धादिङ
दैनिकका उपभाेग्य वस्तुमा कालाे बजारी नियन्त्रण गर्न माग गर्दै पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा सवारी साधन सुरक्षित संचालन हुने वातावरण बनाउन रास्वपा धादिङले प्रमुख जिल्ला अधिकारीकाे ध्यानाकर्षण गराएकाे छ ।
मौषम पूर्वानुमान महाशाखाले ५६ जिल्लामा रेडअलर्ट जारी गर्दा समेत विपद् व्यवस्थापनमा राज्यको पूर्व तयारीमा कमजोरीका कारण देशले ठूलो जनधनको क्षति व्यहार्नु पर्याे । राज्य चुकेकै कारण यो पीडादायी घटना घटेको र पुनः यस्ता घटना नदोहोरियोस् भनि राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला प्रशासनलाई ध्यानाकर्षण गरेका हुन् ।
ध्यानाकर्षण पत्रमार्फत घाइते तथा पीडित नागरिकको उद्धारमा तीव्रता दिई यथासिघ्र उपचारको माग राखेका छन् । मृतकको खोजी, संकलन तथा पीडीत परिवारलाई दाहसंस्कार गर्न ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । त्यस्तै, राजमार्गका पुलहरु भत्किएको हुदाँ अस्थायी बेली ब्रिज व्यवस्था, राजमार्ग र जिल्लाका अन्य सडक खण्ड सुधारका गर्न, चोरी डकैती हुनबाट बच्न, उपभोग्य बस्तुको अभाव, कालो बजारले प्रसय पाएको लगायतका विषयमा ध्यानाकर्षण गराएका छन् ।
विकास निर्माण शान्ति सुरक्षा, आपतकालिन उद्धार विपद व्यवस्थापन जस्ता हरेक क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले सहकार्य गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी धादिङका अध्यक्ष सूर्यमणी पाठकले बताए ।
नजिकिदै गरेको नेपालीहरुको महान पर्व दशैं, तिहार, नेपाल संवत् तथा छट पर्वमा आवतजावत गर्नेहरुको संंख्यामा वृद्धि हुन्छ । त्यसैले आइपर्न सक्ने विपद्को पूर्वतयारीका लागि तयारी रहन ध्यानाकर्षण पत्र बुझाइएको उनले बताए ।
ध्यानाकर्षण पत्र बुझ्दै धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले विपद्ले निम्त्याएको विपत्तिको समाधानका विकल्प खोजिएको बताए । ‘हामी ठ्याक्कै विपदपछि छौं । खोजी तथा उद्धार कार्य पनि भइ रहेको छ । चाडपर्व पनि नजिकि रहेकोले यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल गर्दै काम अघि बढेको छ । तपाईहरुले ध्यानाकर्षण गराउनु भयो आभारी छु’ उनले भने ।