
सुदिप अधिकारी /धादिङ
धादिङको गल्छी गाउँपालिकाले १३ औँ गाउँ सभाकाे अधिवेशनमा आर्थिक वर्ष २०८२/०८३काे नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएकाे छ ।
आर्थिक वर्ष २०८२/०८३ का लागि गाउँ पालिका अध्यक्ष केदारनाथ खतिवडाले गाउँ सभामा पेश गर्नुभएकाे नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास लाई प्राथमिकता दिइएको छ।
गाउँपालिकाले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने, रोजगारी सिर्जना गर्ने, स्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने र डिजिटल प्रविधिको प्रयोगलाई बढाउने उल्लेख गरिएको छ। साथै, वातावरण संरक्षण र दिगो विकासका कार्यक्रम पनि समावेश गरिएको छ।
गाउँपालिका अध्यक्ष खतिवडाले प्रस्तुत गर्नुभएकाे नीति तथा कार्यक्रम गाउँ सभाले सर्वसम्मतिले पारित गरिएको छ ।
धादिङको गल्छी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ७३ करोड ४५ लाख बढिको बजेट प्रस्तुत गरेको छ । गाउँ पालिका उपाध्यक्ष भाईकाजी तिवारीले गाउँसभाको १३ औँ अधिवेशनमा आर्थिक वर्ष २०८२/०८३ का लागि ७३ करोड ४५ लाख २६ हजार ५ सय २५ रुपैँयाको अनुमानित बजेट प्रस्तुत गर्नुभएकाे हो ।
प्रस्तुत बजेट मध्ये आन्तरिक आय स्रोतबाट २० करोड १८ लाख ५८ हजार ९ सय ५० रुपैँया, यस्तै सँघिय सरकारको वित्तिय समानिकरण अनुदान तर्फ १३ करोड ५२ लाख, राजश्व बाँडफाँडबाट ८ करोड ६६ लाख ५१ हजार, समपुरक अनुदान तर्फ ४० लाख, सर्शत अनुदान तर्फ २० करोड ४ लाख रहेको छ । यस्तै प्रदेश सरकारको वित्तिय समानिकरण तर्फ १ करोड ४३ लाख ४० हजार, प्रदेश सरकारको राजश्व बाँडफाँडबाट ३ करोड २८ लाख ५५ हजार, ५ सय ५५ रुपैँया, प्रदेश समपुरक अनुदानतर्फ २ करोड २४ लाख, प्रदेश विशेष अनुदान तर्फ ७० लाख प्रदेश सरकार ससर्त अनुदान २ करोड ३१ लाख ७२ हजारको अनुमान गरिएको छ ।
अधिवेशनमा उपाध्यक्ष तिवारीले प्रस्तुत गर्नुभएको बजेटमा आर्थिक विकास तर्फ १ करोड ६९ लाख १० हजार, सामाजिक विकास तर्फ ६ करोड ९६ लाख २१ हजार, पुर्वाधार विकास तर्फ २१ करोड ८७ लाख, बन वातावरण तथा विपद् व्यवस्थापन तर्फ ६३ लाख र सँस्थागत तथा सुशासन तर्फ १ करोड २० लाख रुपैँया विनियोजन गरिएको हो ।
बजेट गाउँ सभाकाे अर्काे बैठकबाट पारित गरिनेछ ।