बाढीपछि व्यवसायीको माग : कर्जा पुनर्संरचनादेखि बेलीब्रिजसम्म

बाढीपछि व्यवसायीको माग : कर्जा पुनर्संरचनादेखि बेलीब्रिजसम्म

  • Kandara Samachar

  • मङ्लबार, भदौ २३, २०८३

  • 40
    SHARES
बाढीपछि व्यवसायीको माग : कर्जा पुनर्संरचनादेखि बेलीब्रिजसम्म

धादिङ

भदौ १० गते आएको विनाशकारी बाढीबाट धादिङका उद्योगी, व्यवसायी तथा सर्वसाधारणले ठूलो क्षति व्यहोरेको भन्दै धादिङ उद्योग वाणिज्य संघले प्रभावित व्यवसायीका लागि तत्काल राहत, पुनर्स्थापना र व्यवसाय पुनःसञ्चालनका कार्यक्रम अघि बढाउन सरकारसँग माग गरेको छ।

संघका अध्यक्ष रामकुमार डल्लाकोटीले जारी गरेको ध्यानाकर्षण पत्रमार्फत बाढीका कारण ठूलो जनधनको क्षति भएको र अझै पनि धेरै नागरिक बेपत्ता रहेको उल्लेख गर्दै विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ।

बाढीबाट प्रभावित उद्योगी–व्यवसायी तथा सर्वसाधारणको अवस्थालाई तत्काल सामान्य बनाउन संघले सरकारसमक्ष पाँचबुँदे माग अघि सारेको हो। बाढीका कारण व्यवसाय सञ्चालनमा समस्या भोगिरहेका र बैंकबाट कर्जा लिएर व्यवसाय गरिरहेका उद्योगी–व्यवसायीलाई विशेष सहुलियत उपलब्ध गराउँदै कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न संघले माग गरेको छ।

त्यस्तै, बाढीका कारण उद्योग, व्यवसाय तथा घरधुरीमा नियमित विद्युत् सेवा प्रयोग गर्न नसकिएको अवस्थालाई ध्यानमा राख्दै प्रभावित अवधिको न्यूनतम विद्युत् महसुलमा छुट वा मिनाहा गर्न पनि संघले आग्रह गरेको छ।

बाढीका कारण धादिङको मध्य तथा उत्तरी क्षेत्र जोड्ने सडक तथा पुलमा क्षति पुगेपछि आवागमन प्रभावित भएको भन्दै संघले वैकल्पिक सडकको तत्काल मर्मत, स्तरोन्नति तथा पुनर्निर्माण गर्न माग गरेको छ। धादिङको मध्य तथा उत्तरी क्षेत्रलाई पृथ्वी राजमार्गसँग जोड्ने महत्वपूर्ण सम्पर्कका रूपमा रहेको धादिङबेँसी जोड्ने सडकमा आवागमन सहज बनाउन तत्काल अस्थायी बेली ब्रिज निर्माणको काम अघि बढाउन पनि संघले सरकारको ध्यानाकर्षण गराएको छ।

संघले बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना, पुनर्निर्माण र आर्थिक गतिविधिलाई चलायमान बनाउन संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको जनाएको छ। प्रभावित उद्योगी–व्यवसायीको क्षतिको मूल्यांकन गरी राहत तथा पुनर्स्थापनाका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउन पनि संघले आग्रह गरेको छ।

बाढीपछि व्यवसाय सञ्चालनमा देखिएका समस्या समाधान गर्न सरकार र सम्बन्धित निकायबाट शीघ्र पहल हुने अपेक्षा गरेको संघले जनाएको छ। विपद्का कारण रोकिएको आर्थिक गतिविधि पुनः सञ्चालनमा ल्याउन तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणमा समेत ध्यान दिनुपर्ने संघको भनाइ छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar