धादिङ।
त्रिशूली नदीमा आएको बाढीपछि धादिङका विभिन्न स्थानमा गरी १६ जनाको शव फेला परेको छ। नदी किनारका विभिन्न क्षेत्रमा खोज तथा उद्धारका क्रममा ५ पुरुष र ११ महिलाको शव फेला परेको हो। यसै क्रममा मानिसको हात र बायाँ खुट्टाको टुक्रासमेत बरामद गरिएको छ।
जिल्लाका विभिन्न स्थानबाट फेला परेका शवमध्ये अधिकांशको नाम, थर र वतन खुल्न सकेको छैन। गल्छी गाउँपालिका–६ महेश दोभानस्थित त्रिशूली नदी किनारबाट अन्दाजी ३०–३५ वर्षीया दुई महिलाको शव फेला परेको छ। तीमध्ये एक जनाको टाउको नभएको अवस्थामा शव भेटिएको छ।
गल्छी गाउँपालिका–८ कोल्पु खोला पुल नजिकबाट अन्दाजी ४०–४५ वर्षीय दुई पुरुष र एक महिलाको शव फेला परेको छ। सिद्धलेक गाउँपालिका–७ पाङग्रेबाट अन्दाजी ४५–५५ वर्षीया महिलाको शव बरामद गरिएको छ।
त्यस्तै, गजुरी गाउँपालिका–१ गलौँदीमा मानिसको हातको टुक्रा फेला परेको छ भने गजुरी–२ चालिसेबाट अन्दाजी ४०–४५ वर्षीया महिलाको शव फेला परेको छ।
बेनीघाट रोराङ गाउँपालिका–५ बेनीघाट बजारबाट दुई महिलाको शव फेला परेको छ। सोही गाउँपालिका–५ विशालटारबाट दुई पुरुष र एक महिलाको शव बरामद गरिएको छ। बेनीघाट रोराङ–७ चरौँदीबाट तीन महिलाको शव फेला परेको छ।
बेनीघाट रोराङ–१० ज्वाङखोलामा मानिसको बायाँ खुट्टाको टुक्रा फेला परेको छ भने वडा नम्बर ९ जोगिमाराबाट एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ
तीन जनाको उद्धार
बाढीका कारण जोखिममा परेका तीन जनाको समेत उद्धार गरिएको छ। गजुरी गाउँपालिका–६ बेल्खुस्थित त्रिशूली नदी किनारमा रहेको घरबाट ८१ वर्षीय चन्द्रबहादुर आले मगरलाई उद्धार गरी उपचारका लागि धादिङ अस्पताल, आदमघाट पठाइएको छ। उनको अवस्था मध्यम रहेको जनाइएको छ।
भारतको अलिगढ घर भएका ४५ वर्षीय माया चौधरी र ५० वर्षीय राजू चौधरीको अवस्था भने सामान्य रहेको छ।
बाढीपछि त्रिशूली नदी किनारका विभिन्न क्षेत्रमा बेपत्ता तथा प्रभावितको खोजी र उद्धार कार्य जारी रहेको छ। फेला परेका शव तथा मानव अङ्गको पहिचान गर्ने कार्यसमेत भइरहेको छ।