वारिष्ता सीपबाट युवालाई रोजगारीतर्फ उन्मुख गर्दै नीलकण्ठ नगरपालिका

वारिष्ता सीपबाट युवालाई रोजगारीतर्फ उन्मुख गर्दै नीलकण्ठ नगरपालिका

  • Kandara Samachar

  • बुधबार, असार २४, २०८३

  • 37
    SHARES
वारिष्ता सीपबाट युवालाई रोजगारीतर्फ उन्मुख गर्दै नीलकण्ठ नगरपालिका

धादिङ।

धादिङको नीलकण्ठ नगरपालिकाले युवालाई सीपमूलक तालिममार्फत स्वरोजगार र रोजगारीसँग जोड्ने उद्देश्यले एक महिने (१६० घण्टा) वारिष्ता (कफी बनाउने) तालिम सम्पन्न गरेको छ।

‘युवासँग उप–प्रमुख’ कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको तालिममा नगरपालिकाभित्रका ८० युवाहरू सहभागी भएका थिए।

तालिममा सहभागी युवाहरूले सीपसँगै आत्मविश्वास प्राप्त भएको र यसले रोजगारीको नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्। सहभागी सञ्जय अधिकारीले तालिमले व्यवसाय सञ्चालन गर्ने प्रेरणा दिएको बताउनुभयाे ।

नगरपालिकाले व्यवसाय सुरु गर्न चाहने युवालाई बिना ब्याज लगानी उपलब्ध गराउने प्रतिबद्धता जनाएको उल्लेख गर्दै उनले सिकेको सीपलाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्ने योजना रहेको बताउनुभयाे। उहाँका अनुसार आफ्नै व्यवसाय गर्न नसके पनि होटल, रेस्टुरेन्ट तथा क्याफे क्षेत्रमा रोजगारीका अवसर सहज रूपमा प्राप्त गर्न सकिनेछ।

सहभागी भावना भट्टराईले वारिष्टा सीप देशभित्र मात्र नभई विदेशमा समेत रोजगारीका लागि उपयोगी हुने बताउनुभयाे । घर, कार्यालय, होटल तथा क्याफे जुनसुकै क्षेत्रमा पनि यो सीपको माग बढ्दै गएको उल्लेख गर्दै उहाँले नगरपालिकाले सञ्चालन गरेको तालिमले युवालाई रोजगारीतर्फ उन्मुख बनाएको बताउनुभयाे ।

तालिम समापन कार्यक्रममा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले युवालाई वैदेशिक रोजगारीको आकर्षणभन्दा स्वदेशमै उद्यम र व्यवसायतर्फ लाग्न आग्रह गर्नुभयाे नगरपालिकाले सीप विकाससँगै व्यवसाय सञ्चालनका लागि आवश्यक लगानीसमेत उपलब्ध गराउने नीति लिएको बताउँदै उनले इच्छाशक्ति भएका युवाले प्रस्ताव लिएर आए नगरपालिकाले सहकार्य गर्न तयार रहेको बताउनुभयाे।

विदेशबाट आउने आम्दानी र आकर्षक तस्वीरको मात्र पछि नलाग्न आग्रह गर्दै उनले स्वदेशमै श्रम, सीप र उद्यममार्फत आत्मनिर्भर बन्न सके दिगो विकास सम्भव हुने धारणा व्यक्त गर्नुभयाे ।

नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सामाजिक विकासका क्षेत्रमा उल्लेखनीय काम गरिरहेको उल्लेख गर्दै नागरिकको आवश्यकता र सुझावअनुसार थप कार्यक्रम सञ्चालन गरिने उहाँकाे भनाई छ ।

उप–प्रमुख दीपक विश्वकर्माले ‘युवाको हातमा सीप, काम र गोजीमा दाम’ भन्ने उद्देश्यका साथ वारिष्टा तालिम सञ्चालन गरिएको बताउनुभयाे। नगरपालिकाले विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै युवालाई स्वरोजगार र रोजगारीसँग जोडिरहेको उल्लेख गर्दै उनले सिकेको सीपलाई व्यवहारमा लागू गर्न सहभागीलाई आग्रह गरे। आवश्यकता अनुसार थप तालिम र व्यवसाय सञ्चालनका लागि लगानीको व्यवस्थासमेत गरिने जानकारी दिनुभयाे ।।

नीलकण्ठ नगरपालिकाले पछिल्ला वर्षहरूमा सीप विकास, प्राविधिक शिक्षा तथा उद्यमशीलता प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै युवालाई स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar