धादिङ ।
धादिङ अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार, गालीगलौज तथा सामाजिक सञ्जालमार्फत अपमानजनक सामग्री प्रसारण गर्ने घटना बढ्दै गएको भन्दै अस्पताल प्रशासनले कानुनी कारबाहीको माग गरेको छ।
निमित्त अस्पताल निर्देशक डा. त्रिभुवन चन्द्र झाले प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला प्रशासन कार्यालय धादिङमा निवेदन दर्ता गराउँदै अस्पतालमा कार्यरत कर्मचारीले असुरक्षित र त्रासपूर्ण वातावरणमा काम गर्नुपरेको उल्लेख गरेका छन्।
अस्पताल प्रशासनका अनुसार पछिल्लो समय केही व्यक्तिहरूले बिना अनुमति अस्पताल परिसरभित्र प्रवेश गरी बिरामी तथा स्वास्थ्यकर्मीको भिडियो खिच्ने, सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने, चिकित्सक तथा कर्मचारीलाई गालीगलौज गर्ने र अपमानित गर्ने कार्य बढेको छ। यसले अस्पतालको सेवा प्रवाहमा प्रत्यक्ष असर परेको अस्पतालले जनाएको छ।
निवेदनमा नियमित रूपमा कार्यक्षेत्रमा असहज र असुरक्षित वातावरण सिर्जना हुँदा चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल कमजोर बन्दै गएको र कर्मचारी पलायनको अवस्था समेत सिर्जना हुन थालेको उल्लेख गरिएको छ।
अस्पतालले विशेषगरी २०८३ जेठ ११ गते सोमबार भएको एउटा घटनालाई गम्भीर रूपमा उठाएको छ। सो दिन अस्पतालमा अत्यधिक सेवाग्राहीको चाप रहेको बेला ड्रेसिङ शाखामा कार्यरत कर्मचारीले निरन्तर कामको व्यस्तताका कारण तोकिएको समयमा खाजा खान समेत नपाएको जनाइएको छ।
अस्पतालका अनुसार ज्वालामुखी गाउँपालिका–४ निवासी सुगम बाडा नामका सेवाग्राहीलाई आवश्यक सेवा प्रदान गरिसकेपछि शाखामा कार्यरत कर्मचारी करिब अपराह्न ४ बजेतिर ड्युटी कक्षमै खाजा खाइरहेको अवस्थामा अनुमति बिना भिडियो खिचिएको थियो। उक्त भिडियो विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा सार्वजनिक गरिएको र शाखामा कार्यरत महिला कर्मचारीको चरित्रहत्या हुने गरी अफवाह फैलाइएको अस्पताल प्रशासनको आरोप छ।
सो घटनापछि सम्बन्धित शाखामा कार्यरत हे.अ. अशोक श्रेष्ठले जानकारीसहित कारबाहीको माग गर्दै निवेदन पेश गरेका थिए। त्यसपछि अस्पताल प्रशासनले घटनाबारे आवश्यक छानबिन गरी प्रचलित ऐन तथा कानुनअनुसार दोषीमाथि कारबाही गर्न माग गरेको हो।
अस्पतालले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई समेत बोधार्थ दिँदै अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सहज र सुरक्षित वातावरणमा काम गर्ने अवस्था निर्माण गरिदिन आग्रह गरेको छ।
निमित्त अस्पताल निर्देशक डा. त्रिभुवन चन्द्र झाले स्वास्थ्यकर्मीको पेशागत मर्यादा, गोपनीयता र कार्यक्षेत्रको सम्मान हुनुपर्ने भन्दै अस्पतालभित्र हुने यस्ता गतिविधिले समग्र स्वास्थ्य सेवा प्रणालीमै नकारात्मक असर पर्ने बताएका छन्।