धादिङ
ज्येष्ठ नागरिक जिल्ला संघ धादिङले ‘ज्येष्ठ नागरिक’ भन्ने शब्द हटाइएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । संघले प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ज्ञापनपत्र पठाएको हो ।
नीलकण्ठ नगरपालिका–३ मा रहेको संघले पठाएको ज्ञापनपत्रमा ज्येष्ठ नागरिक ऐन, २०६३ (संशोधन २०७९) तथा ज्येष्ठ नागरिक नियमावली, २०६५ मा उल्लेख भएबमोजिम ज्येष्ठ नागरिक संस्थाहरूलाई कुण्ठित हुने गरी ‘ज्येष्ठ नागरिक’ शब्द हटाइएकोप्रति आपत्ति जनाइएको छ ।
संघका अध्यक्ष वासुदेव लम्सालद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उक्त शब्द यथावत् समावेश गराउन सरकारसँग माग गरिएको छ । अन्यथा शान्तिपूर्ण आन्दोलनमा जानुपर्ने अवस्था सिर्जना हुन सक्ने उल्लेख गर्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइएको छ ।
ज्येष्ठ नागरिकहरूको पहिचान, सम्मान र अधिकारसँग जोडिएको विषय भएकाले सरकार संवेदनशील बन्नुपर्ने संघको धारणा रहेको छ ।