३५ दिनदेखि अन्धकारमा रिस्टाबोटे : बिजुली नआएपछि वडा अध्यक्षको कार्यकक्षमै तालाबन्दी

३५ दिनदेखि अन्धकारमा रिस्टाबोटे : बिजुली नआएपछि वडा अध्यक्षको कार्यकक्षमै तालाबन्दी

  • Kandara Samachar

  • मङ्लबार, जेष्ठ १२, २०८३

  • 59
    SHARES
३५ दिनदेखि अन्धकारमा रिस्टाबोटे : बिजुली नआएपछि वडा अध्यक्षको कार्यकक्षमै तालाबन्दी

धादिङ

धादिङको गजुरी गाउँपालिका–८ रिस्टाबोटे क्षेत्रका स्थानीयवासीले लामो समयदेखि विद्युत् सेवा अवरुद्ध हुँदा आक्रोशित बनेर वडा अध्यक्षको कार्यकक्षमै तालाबन्दी गरेका छन् । विकास र आधारभूत सेवाको जिम्मेवारी स्थानीय सरकारमाथि भए पनि निरन्तरको विद्युत् समस्यामा जनप्रतिनिधि र सम्बन्धित निकाय मौन बसेको आरोप लगाउँदै स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।

स्थानीयका अनुसार रिस्टाबोटे क्षेत्रमा विगत ३५ दिनदेखि विद्युत् सेवा पूर्ण रूपमा बन्द छ । पटक–पटक वडा कार्यालय, र विद्युत उपभोक्ता समितिलाई तथा सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि समस्या समाधानतर्फ कुनै प्रभावकारी पहल नभएको उनीहरूको गुनासो छ । दैनिक जनजीवन, विद्यार्थीको पढाइ, साना व्यवसाय तथा सञ्चार सेवा समेत प्रभावित हुँदा बाध्य भएर वडा कार्यालयमा तालाबन्दी गर्नुपरेको स्थानीयले बताएका छन् ।

स्थानीयवासीले जारी गरेको जानकारीपत्रमा “जनताको आधारभूत आवश्यकता नै बेवास्ता गरिएकाले दबाब सिर्जना गर्न तालाबन्दी गरिएको” उल्लेख गरिएको छ । उनीहरूले जेठ १३ गते दिउँसो २ बजेसम्म पनि समस्याको सुनुवाइ नभए वडा कार्यालय नै पूर्ण रूपमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।

घटनाले स्थानीय तहप्रतिको जनविश्वासमाथि प्रश्न उठाएको छ । ग्रामीण क्षेत्रमा सामान्य विद्युत् सेवा पुनःस्थापना गर्नसमेत हप्तौँ लाग्नुले सेवा प्रवाहको प्रभावकारिता र जनप्रतिनिधिको जवाफदेहितामाथि प्रश्न उठ्न थालेको स्थानीयको भनाइ छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar