धादिङ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ स्थित शंखादेवी माध्यमिक विद्यालय मझिमटारमा अध्ययनरत १४० जना छात्रालाई सरसफाइ तथा महिनावारी स्वच्छता सम्बन्धि सामग्री वितरण गरिएको छ।
कक्षा ५ देखि १० सम्म अध्ययनरत छात्राहरुलाई बहादुर सोसल प्रोजेक्ट गोरखाको सहयोगमा मिन्सुरेशन किट, स्यानिटरी प्याड, टावेल, नेलकट लगायत आवश्यक सरसफाइ सामग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक तिलक चेपाङले बताउनुभयाे ।
कार्यक्रममा बहादुर सोसल प्रोजेक्ट गोरखाकी दीक्षा राईको विशेष सहयोग रहेको थियो। परियोजनाले विद्यालयमा अध्ययनरत बालिकाहरूको स्वास्थ्य, सरसफाइ र नियमित पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले सामग्री उपलब्ध गराएको बताइएको छ।
त्यस्तै, उक्त संस्थाले गोरखाबाट मझिमटार अध्ययन गर्न आउने २३ जना छात्र छात्रालाई पूर्ण छात्रवृत्ति समेत प्रदान गर्दै आएको छ। आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शिक्षाबाट वञ्चित हुन नदिन र अध्ययनको वातावरण सहज बनाउन छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।
महिनावारीका कारण बालिकाहरू विद्यालय छाड्ने वा नियमित उपस्थित हुन नसक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यसहित सहयोग गरिएको परियोजनाले जनाएको छ। विद्यालय प्रशासनले यस्ता सहयोगले बालिका शिक्षामा सकारात्मक प्रभाव पर्ने प्रधानाध्यापक चेपाङले बताउनुभयाे ।