– बिसम श्रेष्ठ /धादिङ
गल्छी गाउँपालिकाको आयोजनामा सम्पन्न “गल्छी कप राष्ट्रिय रापिड बुद्धिचाल प्रतियोगिता–२०८३” मा रौतहटका रुपेश जैसवाल प्रथम हुनुभएको छ। उहाँले ६ अंक जोड्दै उपाधिसहित रु. २५ हजार नगद पुरस्कार प्राप्त गर्नुभयो।
नेपाल च्याम्पियन जैसवालले अन्तिम चरणमा काठमाडौंका सिएम पुरुषोत्तम सिलवालविरुद्धको प्रतिस्पर्धात्मक खेल आफ्नो पक्षमा पार्दै उपाधि जित्नुभएको हो।
प्रतियोगितामा पाँचथरका रिसोन थापा ५.५ अंकसहित प्रोग्रेसिभ प्वाइन्टका आधारमा दोस्रो स्थानमा रहँदै रु. १५ हजार पुरस्कार प्राप्त गर्नुभयो। काठमाडौंका सिएम पुरुषोत्तम सिलवाल तेस्रो हुँदै रु. १० हजार नगद पुरस्कार प्राप्त गर्नुभयो।
यसैगरी काठमाडौंका केशब श्रेष्ठ, बद्रीलाल नेपाली, कास्कीका बिनोद नाल्मि, खोटाङका धिरेन राई, ललितपुरका राजन पुरी, काठमाडौंका प्रविर केसी र ललितपुरका सुरोज महर्जन चौथोदेखि दशौँ स्थानसम्म रहनुभएको आयोजकले जनाएको छ। चौथोदेखि दशौँ स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः रु. ८ हजार, रु. ६ हजार र रु. ३ हजारका दरले पुरस्कार प्रदान गरिएको थियो।
प्रतियोगितामा विभिन्न विधागत पुरस्कार सुदिन नेपाल, तारामान श्रेष्ठ, सियोन रिमाल, सविन खतिवडा, सङ्दिल श्रेष्ठ, मनसुन रिमाल, श्रेया रिमाल, सुभाना श्रेष्ठ, उत्सव बराल, सुरज लामा, गोविन्द बराल, मोहन सिंह प्रधान, सौर्य प्रताप सिंह कार्की, नवीन तण्डुकार, गणेशमान दुवाल, कोसिस मणि रिमाल, सात्विक मान तुलाधर र रिहान्सु पौडेलले प्राप्त गर्नुभएको थियो।
विजेता खेलाडीहरूलाई गल्छी गाउँपालिकाका अध्यक्ष केदार खतिवडा, वडा नं. १ का अध्यक्ष यदुकुमार खतिवडा, नेपाल बुद्धिचाल महासंघका सचिवालय सदस्य राजु ताम्राकार तथा शिक्षा अधिकृत धिरज बस्नेतलगायतले पुरस्कार वितरण गर्नुभएको थियो।