बेनिघाट रोराङमा आधारभूत तह कक्षा ८ नतिजामा उल्लेख्य सुधार

बेनिघाट रोराङमा आधारभूत तह कक्षा ८ नतिजामा उल्लेख्य सुधार

  • Kandara Samachar

  • मङ्लबार, चैत्र २४, २०८२

  • 140
    SHARES
बेनिघाट रोराङमा आधारभूत तह कक्षा ८ नतिजामा उल्लेख्य सुधार

– विषम श्रेष्ठ /धादिङ 

गाउँपालिकामा आधारभूत तह (कक्षा–८) को शैक्षिक उपलब्धिमा उल्लेख्य सुधार देखिएको छ।

पछिल्ला वर्षहरूमा कक्षा ८ काे पालिका स्तरीय परिक्षाकाे नतिजामा उत्तीर्ण संख्या निरन्तर बढ्दै जानु शैक्षिक सुधारको सकारात्मक संकेतका रूपमा हेरिएको छ।

गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका अनुसार शैक्षिक वर्ष २०८२ मा आधारभूत तह उतीर्ण परीक्षामा ४९८ जनाले परीक्षा फाराम भरेका थिए। तीमध्ये ४९२ जना परीक्षामा सहभागी भएका थिए भने ४०० जना उत्तीर्ण भएका छन्। यस वर्षको उत्तीर्ण प्रतिशत ८१.३० पुगेको छ, जुन अघिल्ला वर्षहरूको तुलनामा उल्लेखनीय वृद्धि भएकाे गाउँ पालिका शिक्षा शाखा प्रमुख बाेधराज पाठकले जानकारी दिनुभयाे ।

तथ्याङ्कअनुसार, शैक्षिक वर्ष २०८१ मा ५४८ जनाले फाराम भरेका थिए, जसमध्ये ५४० जना सहभागी भई ३१२ जना उत्तीर्ण भएका थिए। सो वर्षको उत्तीर्ण प्रतिशत ५७.७८ रहेको थियो। त्यसैगरी २०८० मा ५१५ मध्ये ५०९ जना सहभागी हुँदा १७० जना मात्र उत्तीर्ण भएका थिए, जसको प्रतिशत ३३.४० थियो।

शैक्षिक वर्ष २०७९ मा ५१६ मध्ये ४९७ जना सहभागी भई १३२ जना उत्तीर्ण भएका थिए, जसको प्रतिशत २६.५६ थियो भने २०७८ मा ५०५ मध्ये ४९१ जना सहभागी हुँदा १३९ जना उत्तीर्ण भएका थिए, जसको प्रतिशत २८.३१ रहेको थियो।

यसरी हेर्दा पछिल्ला पाँच वर्षमा आधारभूत तहको नतिजा क्रमशः सुधार हुँदै गएको देखिन्छ। विशेषगरी २०८० पछि उत्तीर्ण प्रतिशतमा तीव्र वृद्धि भएको छ।

यता, बेनिघाट रोराङ–९ मझिमटारस्थित शङ्खादेवी माध्यमिक विद्यालयको नतिजा पनि उत्साहजनक देखिएको छ। विद्यालयले हालैको परीक्षामा ७२.७२ प्रतिशत उत्तीर्ण दर हासिल गरेको छ भने समग्र एग्रिगेट ८१ प्रतिशत रहेको विद्यालयका प्रधानाध्यापक तिलक चेपाङले बताउनुभयाे ।

कक्षा ८ काे नतिजा सुधारका लागि गाउँ पालिकाले राष्ट्रिय परीक्षा बाेर्डकाे प्रश्नपत्रमा परीक्षा लिएर जिल्ला बाहिर पठाएर उत्तर पुस्तिका परिक्षण गरेकाे छ ।

शिक्षा शाखा प्रमुख बोधराज पाठकका अनुसार शिक्षकको क्षमता अभिवृद्धि, नियमित अनुगमन, विद्यार्थीमैत्री सिकाइ वातावरण तथा अभिभावक सचेतनाका कार्यक्रमले नतिजा सुधारमा सहयोग पुगेको हो। उहाँले यस सुधारलाई दीर्घकालीन बनाउन अझै गुणस्तरीय शिक्षा कार्यक्रमहरू आवश्यक रहेको बताउनुभयो।

यद्यपि, विपन्न तथा अति सिमान्तकृत समुदायका विद्यार्थीमा विद्यालय छोड्ने समस्या अझै कायम रहेकाले त्यसतर्फ लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

स्थानीय तह, विद्यालय र समुदायबीचको सहकार्य सुदृढ गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यसहित गाउँपालिकाले आगामी दिनमा थप सुधारमुखी कार्यक्रम अघि बढाउने जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar