
काठमाडौं ।
नेकपा एमलेका उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले नेकपा एमालेमा देखिएका समस्याको समाधान गर्न नेतृत्व सक्षम भएको बताउनुभएको छ । समकालिन राजनीतिक पार्टीमा एमाले नै कम आन्तरिक समस्या भएको पार्टी रहेको उहाँले बताउनुभएको छ । यस पार्टीमा देखिएका समाधानका लागि कसैको सहयोग नचाहिने उहाँले स्पष्ट पार्नुभयो ।
नेकपा एमाले जनसंगठन संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले सो कुरा बताउनुभयो । ‘कतैपनि सग्लो पार्टी भेटिदैन । धोएको मुला जस्तो,गंगाजल जस्तो पार्टी भेटिदैन’ उपाध्यक्ष पौेडेलले भन्नुभयो ‘तर एमाले कम आन्तरिक समस्या भएको पार्टी हो । जे जस्ता समस्या पार्टीमा देखिन्छन् तिनलाई समाधान दिन वर्तमान नेतृत्व सक्षम छ ।’ एमालेमा केही केही समस्या भए पनि तिनलाई नीति र विधीको माध्यमबाट समाधान गरिने उहाँले बताउनुभयो ।
उपाध्यक्ष पौडेलले पार्टीको विधान महाधिवेशन नजिकिदै गरेकोले त्यसको तयारीमा पार्टी लागिरहेको जानकारी दिनुभयो । भदौको तेस्रो साता हुने विधान महाधिवेशनले १० औं राष्ट्रिय महाधिवेशनपछि पार्टीले बैधानिक रुपमा सच्याउनु पर्ने,कार्यन्वयन गर्न भएका अफ्ठ्यारालाई सहज बनाउन विधान महाधिवेशनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । ‘विधान महाधिवेशन अघिल्लो विधान महाधिवेशन देखि हालसम्म पार्टी संगठन सञ्चालनमा देखिएका समस्यालाई वैधानिक रुपमा नै सुधार गर्ने विधी तय गर्नेछौं’ उपाध्यक्ष पौडेलले भन्नुभयो ‘केन्द्रीय कमिटीले विधानमा संसोधन गर्नुपर्ने विषयहरु प्रस्ताव गर्दछ । यी विषयहरु हामी महाधिवेशन प्रतिनिधीलाई पहिले नै पठाएर थप समृद्ध गर्न भन्नेछौं । ’ उहाँले विधान महाधिवेशन नै नभइ पार्टी नेतृत्वका विषयमा अनावश्यक अनुमान गर्ने र विभाजित हुने काम नगर्न उहाँले जनसंगठनलाई निर्देशन दिनुभएको छ । ‘विधान महाधिवेशन भन्दा पहिला नेतृत्वको विषयमा छलफल नगरौं’ पौडेलले भन्नुभयो ‘विधान महाधिवेशनले विधि तय गरेपछि नेतृत्वको बारेमा छलफल गरौंला । एमालेमा नेतृत्वको विषयमा कुनै समस्या छैन ।’
उपाध्यक्ष पौडेलले पार्टी र जनसंगठनमा देखिएको शिथिलतालाई चिर्न सबै लाग्नुपर्ने बताउनुभयो ।‘एमालेमा कुनै बेला सिटी फुकेको भरमा हजारौं मानिस सडकमा आउथे । अहिले किन मानिसह शिथिल भएका छन् ?’ उपाध्यक्ष पौडेलले भन्नुभयो ‘आम जनतामा उर्जा भर्न र जनताको बीचमा जान पार्टीका महत्वपूर्ण अंग जनसंगठन नै हुन् । उनीहरुले यो भूमिका निवार्ह गर्नुपर्दछ । ’
उपाध्यक्ष पौडेलले पार्टी निर्माणमा जनसंगठनको शसक्त भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले २०४६÷०४७ सालका जनसंगठन, २०६२÷०६३ सालका जनसंगठन धेरै शसक्त भएको स्मरण गर्दै उहाँले वर्तमान अवस्थामा जनसंगठन पनि सुुस्ताएको बताउनुभयो । ‘जनसंगठन पार्टीको ब्याड हो । यहाँ रोपेका विरुवा हुर्किएपछि पार्टीमा सारिन्छ’ उहाँले भन्नुभयो ‘त्यसैले मुलरुपमा पार्टीको सम्पर्कमा नयाँ मानिसहरुलाई ल्याउने काम जनसंगठनको नै हो । तर अहिले कतिपय जनसंगठनले पार्टीकै कार्यकर्ता लगेर संगठित गर्ने अनि फेरी पार्टीमै फर्काइदिने गरेका छन् । यसले संगठन र पार्टीको बिस्तार हुदैन ।’
जनसंगठन संयन्त्रको बैठकमा इन्चार्जहरुले रिर्पोटिङ गर्ने क्रम जारी छ ।
संयन्त्रका इन्चार्ज भानुभक्त ढकालका अनुसार हालै महाधिवेशन सम्पन्न भएका १६ वटा जनसंगठनका इन्चार्ज,अध्यक्ष,निवर्तमान अध्यक्ष र महासचिवहरु बैठकमा सहभागी छन् । बैठक ढकालको सभापतित्वमा सञ्चालन भइरहेको छ ।