
धादिङ ।
धादिङको गल्छी गाउँपालिका ७ भल्टारस्थित पृथ्वी राजमार्गमा दुई हाईस एकआपसमा ठोक्किँदा १२ जना यात्रु घाइते भएका छन्।
लमजुङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ६९४ नम्बरको हाईस र काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख ७१४१ नम्बरको अर्को हाईस आपसमा ठोक्किँदा दुबै सवारीमा रहेका यात्रुहरू घाइते भएका हुन्।
दुर्घटनापछि घाइतेहरूलाई उपचारका लागि तत्काल गल्छीस्थित अम्बे भरोसा अस्पतालमा लगिएको थियो। त्यसमध्ये दुई जनालाई थप उपचारका लागि काठमाडौं ट्रमा सेन्टर रिफर गरिएको जिल्ला प्रहरी चौकी गल्छीले जानकारी दिएको छ।
प्रहरी चौकी गल्छीबाट प्रहरी निरीक्षक चरीबहादुर तामाङको कमाण्डमा ट्राफिक टोलीसहितको टोली घटनास्थलमा खटिएको थियो। दुबै सवारी साधन प्रहरी नियन्त्रणमा रहेका छन् भने सडकमा यातायात अवरुद्ध नभएको प्रहरीले जनाएको छ।