बुर्का लगाऊ अब

बुर्का लगाऊ अब

  • Kandara Samachar

  • बिहिबार, भदौ २०, २०८१

  • 150
    SHARES
बुर्का लगाऊ अब

✍️ सृजना अर्याल
जन्मेकै दिनमा पुजेर घरकी लक्ष्मी बनेकी तिमी
सानैदेखि चिटिक्क चट्ट पुतलीजस्तै बनेकी तिमी
खेल्थ्यौ ती पुतली समस्त बटुली छोरा र छोरी भनी
खेल्दै भात पकाउँथ्यौ रहरले पस्केर दिन्थ्यौ अनि ।१।

खाना , सेल , अचार , खीर , हलुवा मिष्ठान्नका खातिर
मेलापात जतासुकै जतिसुकै होस् दु:ख त्यो आखिर
सारा सीप सिक्यौ दुना र टपरी बत्ती र चर्खासित
के सङ्घर्ष ? बुझ्यौ पढी हिउँद या बाढी र बर्खासित ।२।

नाम्लो या हँसिया लिएर वनमा दैनन्दिनी चल्दथ्यो
तिम्रो हात परे बिहान घरको हाँस्दै चुह्लो बल्दथ्यो
त्यो आदेशबिना कसिङ्गरहरू बस्थे अटेरी बनी
न्यास्रिन्थे छिनमै तिमी पर हुँदा पानी पँधेरी पनि ।३।

बस्नैहुन्न अगाडि मान्यजनको पारेर ठाडो शिर
थोरै लाज सुहाउला नयनमा छोरी पर्यौ आखिर
सिक्नू मान मिजासका सबकुरा सप्रिन्छ त्यो जीवन
छोरी ! पढ्नुहुँदैन शास्त्र कहिल्यै बिग्रिन्छ तिम्रो मन ।४।

कन्या दान गरिन्छ द्रव्यजसरी पुज्दै पराई तर
छोरीको थरमात्र होइन हरे खोसिन्छ आफ्नो घर
स्थायी दास भयौ नियुक्त घरमा आयौ बुहारी बनी
तिम्रै हो घर , फैसला गर भनी भन्दैन कोही पनि ।५।

हिँड्दा दोष हुने छिटो गति भए उत्ताउली होस् भनी
बिल्ला लाग्दछ सुस्त भो यदि भने लौ अल्छिनीको पनि
जन्मैदेखि विभेद नै त गरियो चिन्ता थिएनन् तब
आधा जीवन गैसकेछ यसरी के पीर गर्छ्यौ अब ? ६।

हेर्थे मख्ख परी युवा नजिकका तिम्रो जवानीतिर
छुन्थे शिक्षक सुस्तरी लहसिँदै आएर छातीनिर
साराको इतिहास बोल्छ अहिले चस्केर छाती हरे
लोग्नेमानिस ऊ त मर्द भइगो बन्दैन दोषी अरे । ७ ।

हाँसेमात्र खुलेर भन्छ दुनियाँ मस्केर हाँसी भनी
बोले बात लगाइदिन्छ जगले लौ प्रीत गाँसी भनी
पढ्दा भन्छ समाजले दिनदिनै “छोरीहरू बिग्रिए”
बोले न्याय निमित्त सोच अब ती सम्बन्ध टाढा भए ।८।

जन्मेदेखि सिकाइयो हरघडी संस्कारका यी कुरा
“जे जे हुन्छ समाजभित्र सहनू , सुन्नू सबैका कुरा ”
जन्मेको घरदेखि कर्मघरमा ज्ञानी र राम्री हुनू
अाज्ञापालक भै बनी पतिव्रता लौ भाग्यमानी हुनू ।९।

राम्रो हो जसरी जहाँ पुरुषको आँखा परे तापनि
छोरा मानिस जन्मिँदै रगतमा बोकेर ल्याए भनी
गाली जत्ति गरून् पिटून् दिनदिनै जस्तै गरून् ज्यादती
जे जे जत्ति सह्यौ पुगेन यसले हेर्नू न थोरै थपी ।१०।

आमा चूप रहेर रातदिन नै बस्थिन् चलेकै थियो
सासू कष्ट सहेर फेरि घरमा हाँस्थिन् चलेकै थियो
त्यो भन्दा त हजार दु:ख विपदा तिम्री बज्यैले सहिन्
हाँस्दै झेल्न सकिन् र पो त घरकी राम्री तिनी भैरहिन् । ११।

यस्तैमात्र समाज भन्छ जहिल्यै आफ्नाहरूले पनि
बेइन्साफ सहेर बस्न नहुने भन्दैन कोही पनि
बारम्बार छिया छिया हृदयमा रोपिन्छ भाला जब
आफ्नाले पनि हेर्नु हुन्न मुखमा बुर्का लगाऊ अब ।१२।

पाल्छन् , दु:ख गरेर पाल्तुसरि नै बाँधेर राख्ने भए
उस्तै दम्भ , घमण्ड भित्र मनमा पालेर राख्ने भए
साथै काम गरेर साँझ घरमा रोएर के अर्थ भो ?
ढोकाबाहिर हिँड्नु हुन्न घरमै बुर्का लगाए भयो ।१३।

ढोका बन्द गरून् , समस्त सुविधा पाए भयो भैगयो
खोल्दा झ्याल कतै प्रकाश नपरोस् पर्दा लगाए भयो
साँच्चै हो , प्रतिवाद गर्न नहुने संस्कारमा छौ जब
निस्के बाहिर देख्न सक्छ दुनियाँ बुर्का लगाऊ अब ।१४।

आयो चेतन क्रान्तिको हृदयमा आएर के हुन्छ र ?
छायो नूतन लालिमा क्षितिजमा छाएर के हुन्छ र ?
साक्षी साँझ बिहान छन् रहरका छन् खात ताजा अझ
आफैँसाथ लजाउने समय भो बुर्का लगाऊ अब ।१५।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar