गन्तब्य भैरवी

गन्तब्य भैरवी

  • Kandara Samachar

  • आइतवार, माघ २६, २०८२

  • 161
    SHARES
गन्तब्य भैरवी
Oplus_16908290

धार्मिक आस्था, प्राकृतिक साैन्दर्य र साँस्कृतिक पहिचानकाे अनुपम संगम

धाादिङकाे नीलकण्ठ नगरपालिका वडा नम्बर ६

भाैगोलिक अवस्थितिः

भैरवी मन्दिर धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकाको वडा नम्बर ६ नेवारपानीको शिरमा पूर्व माथ्लो पातल, पश्चिममा तल्लो पातल, उत्तरमा रिजालथोक र दक्षिणमा सुनौलाबजार बीचको रमणीय उच्च थुम्कोमा अवस्थित छ । यस थुम्कोको उचाइ करीब पाँच हजार फीट छ । भैरवी मन्दिरबाट गणेश हिमालदेखि धवलागिरिसम्मका हिमश्रृंखलाहरु सहित धादिङ जिल्लाका अधिकांश भू-भाग, रसुवा र गोरखाका केही भू- भाग तथा महाभारत श्रृंखलाको समेत अवलोकन गर्न सकिन्छ ।

ऐतिहासिक पृष्ठभूमिः

भैरबी मन्दिर स्थापनाको यकिन मिति नभेटिए पनि बि सं १६६६ मा राजा राम शाहले स्थापना गरेका आठ शक्ति पीठहरुमध्ये एक भएको तथ्य ताम्रपत्रमा उल्लेख छ । पृथ्वीनारायण शाह नुवाकोट आक्रमणमा पराजित भएपछि यिनै भैरबीको भाकल पूरा गरी विजय भएको र उनैले पूजा र नगराका लागि धादिङका विभिन्न स्थानमा ९० रोपनी ११ आना २ पैसा जग्गा गुठी स्वरुप बन्दोबस्त गरिदिएका थिए । प्रमाण स्वरुप भेटिएको लालमोहरमा संवत् १८७४ लेखिएको बुझ्‌न सकिन्छ, यसका आधारमा भैरवी मन्दिर चार सय वर्षभन्दा पुरानो रहेको पुष्टि हुन्छ । नेपाली वास्तुकलाको तल्ले शैलीमा निर्मित भैरवी मन्दिर १९९० सालको चट्याङका कारण भत्किएपछि पुनः निर्माण गरिएको थियो, १२ वटा काठका खम्बाहरुमा ठडिएको २.९० मीटर लम्बाइ चौडाइ र ४.५० मीटर अग्लो उक्त मन्दिर २०७२ सालको भूकम्पमा पुनः भत्कियो । हाल वृहत् गुरु योजना सहित मन्दिरको पुननिर्माण भै रहेको छ । मन्दिरमा देवीको प्रतिक स्वरुप करीब २ फिट अग्लो र करीब १० फिट गोलाई रहेको शिला छ, यसै शिलाको आधाभाग भैरवीदेवी र आधा भाग भैरव देवको रुपमा रहेको छ । भैरवदेवका रुपमा पूजिने शिला भैरवीदेवीको मन्दिर बाहिर उत्तरपट्टि ढल्केको अवस्थामा देख्न सकिन्छ ।

मान्यता र परंपरा

प्रत्येक वर्षको वडा दशैंमा गोरखकालीबाट ल्याइएको फूलपातीको डोली यस मन्दिरमा भित्राइन्थ्यो, अर्को डोली यसै बाटो भएर काठमाडौंको हनुमानढोका स्थित दशैं घरमा लगिन्थ्यो । दशैंमा जमरा राख्ने छाप्रो बनाउन रामकोटबाट कुमाल जातीलाई झिकाइथ्यो, जौ, तिल, केरा आदि सल्यानटारबाट लेराइन्थ्यो, भालडाँडाबाट चामल, तेल आउँथ्यो । यी सामाग्रीको बन्दोबस्त एक द्वारेबाट हुन्थ्यो । भैरवलाई वर्षेनी २ वटा त्रिशुल चढाइन्थ्यो, यो बनाउने र हातहतियार अर्चाब्ने काम रिजालथोकका विश्वकर्माले गर्थे । अहिले यी बन्दोबस्त गुठी ब्यवस्थापन समितिले गरिरहेको छ ।

घटस्थापनाका दिन ४ जना पुजारीहरुले विधिपूर्वक पूजा गरी नगरा, बानो र अन्य बाजागाजा सहित उपासे (उपवाशी) घरमा देवी आमन्त्रण गरी जमरा राखिन्छ । छैटौं दिनको बेलुकी २ जना पुजारीले भोर्ले (हाल नीलकण्ठ ६) मा रहेको बेलको बोटमा पूजाआजासहित १ बोको बली दिई देवीलाई निम्तो दिईन्छ, सातौं दिन यसै स्थानबाट २ वटा वेलसहितको फूलको डोली उठाउने गरिन्छ । कुनै पनि वर्ष उक्त रुखमा २ वटा मात्र भने पनि वेल फल्छ फूलपातीका दिन पूजाआजा र बलि पूजा गर्ने भक्तजनको ठूलो घुइचो हुन्छ । अष्टमीको राती पण्डितहरुद्वारा १३ अध्याय चण्डीपाठ गरी १ कालो बोको, १ राँगो र १ कुपिण्डो को बलि दिई कालरात्री पूजा गरिन्छ, त्यसलाई १७८ भाग लगाई होमादिसहित रातभर जाग्राम बसी पुजा गरिन्छ । यस होमबाट निस्केको भष्माखर बाँझोपन भएको महिलालाई खुवाएमा सन्तान प्राप्त हुन्छ भन्ने जनविश्वास छ । नवमीका दिन गणेश मन्दिर समीप १ बोकाको बलिपश्चात् स्थानीय युवाहरुले ६ वटा निशान पूजा गरी मालश्रीगान सहित मन्दिर तल रहेको वरको फेदको मौलो मा १ राँगोको बलि दिईन्छ, त्यस उप्रान्त भैरवी मन्दिरमा १ राँगो, १ बोका तथा भैरवको मन्दिरमा १ सुँगुरको बलि दिने प्रथा कायम छ । किंवदन्ती अनुसार माता भैरवी गर्भवती भएको अवस्थामा मांसाहार गर्ने इच्छा भयो, भैरव देव शिकारको खोजमा जाँदा एउटा सुंगुर भेटेर ल्याए, भैरवी माता डरले घोप्टो परेको र त्यो सुंगुर भैरवले मन्दिरको उत्तरतर्फ ओर्लिएर भोग गरे, सोही कारण भैरवीको मूर्ति घोप्टिएको अवस्थामा देखिन्छ, त्यसैकारण भैरवी देवीलाई सुंगुरको भोग नचढाउने चलन रहेको बताइन्छ । दशैभरमा भैरवी मन्दिर परिसरमा स्वेच्छिक भाकल बाहेक कुल ७बोका, ३ राँगा र १ सुँगुरको बलि दिने परंपरा छ, केही समय यी परंपराहरुमा क्रमभ‌ङ्गता भए तापनि हाल भैरवी मन्दिर गुठी ब्यवस्थापन समितिले परम्परालाई निरन्तरता दिएको छ ।

दशैंको सप्तमीको दिन गोरखकालीबाट ल्याइएको र आसपासका अन्य भक्तजनहरुले ल्याएका फूलपाती र नवरात्रीभर मन्दिरमा बालिएको दियो विजयादशमीका दिन भैरवी मन्दिरको दक्षिणतर्फ रहेका ठूलो पँधेरो तथा अँधेरी खोलामा विधिपूर्वक सेलाईन्छ, कुन पँधेरामा लैजाने भन्ने निर्णय शुक तारा उदयमा भर पर्छ । शुक्रको विपरीत हुने गरी विसर्जन गरिन्छ । फूलपाती विसर्जनका लागि मालश्री गान र गाजाबाजा सहितको लावालस्कर हुन्छ, विसर्जन गरेर फर्किदा नवकन्यालाई सोही फूलपाती लगिएको डोलीमा राखी पुनः दशैं घरमा लगी पूजाआजा, दानदक्षिणा र भोजन गराए पछि मन्दिरमा देवी बिसर्जन हुन्छ । यो परंपरा केही समय अवरुध्द भएको भए पनि हाल यसले निरन्तरता पाएको छ ।

 

पूजा परंपरा

भैरवी मन्दिर गुठी ब्यवस्थापन समितिका अनुसार मन्दिरका निम पूजारी स्थानीय राना मगर छन् । दाताले दिने ३० मुरी अन्न र जिल्ला प्रशासनबाट वार्षिक रुपमा आउने रु. ६ हजार ७ सय ३२ रुपैंया ५० पैसाबाट मन्दिरको पूजा परंपरा चली आएको छ । ढोलकी, झुर्मा, दमाहा, सनाइ र कर्नाल बजाउने जिम्मा पाएका परियारहरुले परंपरा छोडेका छैनन् । समितिले दिएको जानकारी र अभिलेख अनुसार भैरबी गुठीको कूल जमीन ९०.११.२.० रोपनी रहेको छ ।

पर्यटकीय गन्तब्य

नित्यपूजा संचालनमा रहेको भएपनि कतिपय परंपराहरु लोप भएका छन् । तथापी प्रचलित गुठी ऐन अनुसार २०७९ असोज ३१ मा भैरवी मन्दिर गुठी ब्यवस्थापन समितिको गठन भएपछि यस समितिले परंपराहरुको निरन्तरताका अतिरिक्त बृहत गुरुयोजना तयार गरी भैरबी क्षेत्रलाई आकर्षक गन्तब्य बनाउन शुरु गरेको छ । गुरु योजनामा भीमसेन, सरस्वती, गणेश, भैरवी र भैरवको गरी ५ वटा भब्य आधुनिक मन्दिरहरु बन्ने छन् भने रकक्लाइम्बिङ, बन्जिजम्प, प्याराग्लाइडिङ, लगायत साहसिक खेलहरुको विकास गरिने छ । भैरवी क्षेत्र आसपासमा सुन्दर बगैचा र पिकनिक स्पोर्टस् समेत बन्ने छन् ।

धादिङबेसी सदरमुकामदेखि करीब १८ कि. मी मात्र टाढा यो मनोरम क्षेत्र एक पर्यटकीय गन्तब्य वन्ने क्रममा छ, यस क्षेत्रको सांस्कृतिक संरक्षण, विकासमा हातेमालो र प्रचारप्रसारमा सहयोग गरौं ।

जय भैरवी

(धादिङ उद्योग वाणिज्य संघद्वारा प्रकाशित ब्राेसरबाट)


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar