
✍️ हरि खनाल

सुनारकुवा
जलमुखी देवीसँग कुवाको इतिहास जोडिएको छ । जलमुखीको बारेमा अध्ययन गर्ने सिलसिलामा लेखकले एकदुई पटक सुनखानीको चक्कर लगाएको थियो । गणना गर्दा त्यो घुमाइले पनि चौबीस वर्ष पार गरिसकेछ तर त्यो भ्रमण र अध्ययन अपूरो रहेछ । यस अर्थमा अपूरो कि जहाँबाट जलमुखीको उत्पत्तिको कुरा उठान भयो त्यहीँ पुगिएको रहेनछ । कुवा लेखियो तर कुवा देखिएन । नाम र उत्पत्ति सम्बन्धमा स्वर्गीय नर्मराज र नोदराज अर्यालसँग साक्षात्कार गरिएको थियो । अतिरिक्त जानकारीका लागि कृष्ण आचार्य, पुजारी लक्ष्मण शाक्य लगायतसँग पनि आवश्यक जानकारी लिइएको थियो । यस विषयमा २०५६÷५७ सालतिर मधुपर्कमा र वि.सं. २०६८ सालमा पर्यटकीय विम्ब चित्रमा धादिङ नामक पुस्तकमा पनि प्रकाशन भइसकेको छ । त्यसकारण यस आलेखमा जलमुखीसँग जोडिएको तर चर्चा नभएको विषयमा लेखन केन्द्रित गरेको छु ।
सुनखानीको नामसँग जोडिएको पोखरीको दर्शन गर्ने दिन अर्थात् २०८२ साल असार १५ गते जलमुखी देवीको उत्पत्तिसँग जोडिएको सुनारकुवाको भ्रमणको गर्ने चाँजो मिलाउनुभयो गुरु होमबहादुर आचार्यज्यूले । हामी पुग्छौँ सुनखानी रानागाउँको एक भागमा जहाँ सुनारहरूको बस्ती रहेको छ । त्यही परम्परागत आरन पनि रहेछ । आरन नाघेर अलि पर पुगेपछि केही किशोर पुस्ता र केही प्रौढ पुस्ता भेटिए । हामी कुवामा पुगिसेका थियौँ । बिहानै पानी भर्न आउने खड्कबहादुरका जिजुबाजेले हरेक बिहान गाग्री डुबाउँदा शिलामा ठोकिने र शिला झिकेर मिल्काउने काम केही दिनसम्म गरेपछि अन्तमा सपना भएको र देवीले आपूmलाई उच्च स्थानमा लगेर स्थापना गरे त्यहाँको भलाई हुने जानकारी गराएपछि माथि डाँडोमा लगेको भन्ने कुरा आपूmले बाउबाजेसँग सुनेको कुरा खड्कबहादुरले पनि सुनाउनुभयो । हो यही कुवा हो लौ हेर्नुस् । हामीले धाराको पानी नपाउँदा पानी खाने यहीँको हो । यसो धारामा समस्या आउँदा पानीका भरपर्ने पनि यसैमा हो । खड्कबहादुरले कुवा देखाउनुभयो । कुवालाई माथिबाट सिमेन्टको छानो बनाएर व्यवस्थित गरिएको रहेछ । कुवामा सङ्लो पानी बगिरहेको थियो । खड्कबहादुर यो कुवालाई विशेष कुवा भन्न मनपराउनुहुन्छ । उहाँको भनाइअनुसार पानी भर्न आउँदा उहाँले धेरैपटक त्यहाँ नाग देखिसक्नुभएको छ । नाग डिलमा देखिने भएपनि गाग्री लिएर गएपछि भित्र पस्ने गरेको अनुभव उहाँसँग छ । त्यत्रो जलमुखीको गर्भगृह जस्तो बनेको कुवाको प्रचार प्रशार नहुँदा खड्कबहादुर र उहाँको भाइभतिजलाई अचम्म लागेको छ । खड्कले भन्नुभयो, ‘जलमुखी जुन कुवाबाट निस्कनुभयो त्यही कुवाको नामचाहिँ किन प्रचार भएन ? मन्दिरमा आउने भक्तजनले यो कुवाको पानीले नुहाउने अवसर पाउनुपर्दैन र ?’
खडकबहादुरको त्यो प्रश्नचाहिँ निकै दमदार लाग्यो । हो त यसमा त दुई मतै छैन । यस्ता कुरामा हामी कति सोच्दैनौँ । वास्तवमा खडकबहादुर सुनारको तर्कलाई मैले बारबार सलाम गरेँ । देवीले निवास गरेको त्यो कुवाको पवित्रता कति उच्च होला ? खड्कबहादुरज्यूको तर्कले मेरो मष्तिष्कमा निकैबेर नृत्य ग¥यो । खड्कबहादुरले अभैm पनि जलमुखी र कुवाको सम्बन्ध रहेको र बाउबाजेले जलमुखी कुवामा झर्छिन् भनेको कुरा अस्पष्ट रूपमा राख्नुभयो । ‘मलाई भन्दा अलि बढ्ता त चन्द्रबालाई जानकारी होला ।’ खड्कबहादुरले भन्नुभयो ।
‘कामी गाउँबाट थप जानकारी पाउन चन्द्रबहादुरलाई भेट्नुपर्छ ।’ होमबहादुर आचार्यज्यूले पनि भन्नुभयो । हाम्रो यात्राले चन्द्र सुनारको घर सोझ्यायो । घरभन्दा मुनि बसेर गाईबस्तुलाई घाँस दिइरहनुभएको रहेछ ९६ वर्षीय चन्द्र सुनार ।
अनुहार चाउरीले ढाकेपनि उहाँको हातगोडा सबल नै रहेछन् । श्रवणशक्तिमा केही ह्रास आएको रहेछ । नौला अनुहार धेरै थिएनन् मबाहेक । उहाँ सहज ढङ्गले हामीसँग पेश हुनुभयो । हाम्रो जिज्ञासा जलमुखी र कुवातिर नै थियो । चन्द्रले भन्नुभयो जलमुखी र मनकामनाकाबीचमा दिदी बैनी वा साथीको के सम्बन्ध हो थाहा छैन तर ज्योति आदान प्रदान हुने गथ्र्यो रे । मेरो बाले धेरैपटक विशेष दिनमा त्यस्तो दृश्य देखेको कुरा गर्नुभएको थियो ।’ चन्द्रले सुनाउनुभयो । यसले थप जिज्ञासु बनायो । नितान्त नौलो कुरा उद्घाटन भइरहेको थियो । ‘कस्तो ज्योति बुबा ?’ मेरो जिज्ञासा । यताबाट उज्यालो टर्चलाइट बालेजस्तो पुञ्ज जाने र उताबाट पनि केहीबेरपछि त्यस्तै उज्यालो आउने । त्यसकारण जलमुखी र मनकामनाको गहिरो सम्बन्ध छ ।’ उहाँले ठोकुवा गर्नुभयो ।
‘तपाईँकै आँखाले पनि देख्यो त ?’ मेरो प्रश्न थियो ।
‘मनकामना र जलमुखीको उज्यालो जोडिने कुरा विशेष समयमा हुने भएकाले हो वा के हो मैलेचाहिँ देख्न पाएको छैन । तर जलमुखी यो उत्पत्ति कुवामा नुहाउन आएकोचाहिँ एकाधपटक देखेको छु ।’ चन्द्रबहादुर बुबाको कुरा थप रोचक बन्दै गएको थियो । जलमुखी विशेषतः कार्तिक शुक्लपूर्णिमा,पञ्चमी र फागुपूर्णिमाका दिन बिहान रात रहँदै यो कुवामा आउने र नुहाएपछि फेरि आफ्नै स्थानमा जाने गरेको कुरा धेरैले भनेका थिए । एकपटक त म आपैmँले देखेँ ।’
‘कसरी देख्नुभयो ? के ती मानिसकै रूपमा आउँदिरहिछन् र ?’ मैले प्रश्न गरिहालेँ ।
‘हैन तारा खसेको देखेजस्तै झिलिक्क झिलिक्क गर्दै आउने र केहीबेरपछि त्यसैगरी फर्किने रहिछन् ।’ चन्द्रले भन्नुभयो । यो भ्रम, विश्वास वा यथार्थ जेसुकै होस् तर यसले जलमुखी र कुवाको सम्बन्धलाई भने स्पष्ट पार्छ । चन्द्रबहादुर बुबाको कुराले खड्कबहादुरले गर्नुभएको प्रश्न कुवासँग जलमुखीको यात्रा किन नजोडेको भन्ने कुरालाई बल दियो । जीवित इतिहासको मुखबाट दुई महत्वपूर्ण कुरा बाहिर आयो । विभेदको रेखा त मान्छेले मात्र कोर्दोरहेछ । जलमुखीले त कोरिनछन् नि ? मेरो मनभरि कुरा खेल्न भ्यायो ।
मेरो अर्को प्रश्न थियो जलमुखी मन्दिर स्थापना कसले ग¥यो त ?
उहाँले उही जिजुले कुवामा गरे भोगेका र सपनाका कुरा गर्नुभयो जुनकुरा यसअघि खड्कबहादुरले भनिसक्नु भएको थियो । शिलालाई सपनामा उल्लेख भएअनुसार पञ्चैबाजा बजाउँदै अहिले भएकै ठाउँमा गाउँलेहरुले लगेर राखे । त्यतिबेला रुखको फेदमा राखिएको थियो अरे । मन्दिर बनाउने, पूजाआजाको व्यवस्था मिलाउने कामचाहिँ बाहुन विशेष गरी पुरेत खलकले गरे ।’ चन्द्रबहादुरले भन्नुभयो ।
‘को हो पुरेत खलक भनेको ?’ मैले प्रश्न गरिहालेँ । मेरो प्रश्न झर्न नपाउँदै होम गुरुले सम्झाउनुभयो उही अर्याल खलक । यसो भनेपछि दैवज्ञ केशरी अज्र्यालको भूमिका जोडिन पुग्यो ।
हामीले चन्द्र सुनारसँग सँगै बसेर तस्वीर लियौँ । उहाँ नजिक बस्न अनकनाइरहनुभएको थियो । मैले गुन्द्रीमा सँगै बस्न बोलाएँ । बाहिर प्रकृतिको झरी परिरहेको थियो हामीभित्र ज्ञानको झरी । पन्ध्र असार झरी परेर पनि उपयोगी भयो । जलमुखीलाई कुवासँग जोड्ने खड्कबहादुरको उचित प्रस्ताव र चन्द्रबहादुरको जलमुखी र मनकामनाबीचको ज्योतिमिलन तथा कुवामा जलमुखीको स्नानका कुराले निकै तरङ्गित तुल्यायो । सुनारको कुवा भनिने त्यो ऐतिहासिक कुवा जलमुखीकुवा रहेछ । स्थानीय जनताको कुरा सम्बन्धित गाउँपालिकाले अवश्य सुनेबुझेको हुनुपर्छ । धार्मिक स्थलको संरक्षण तथा धार्मिक पर्यटनका विषयमा यतिबेला सबै स्थानीय तह सचेततापूर्वक लागिपरेका होलान् भन्ने मलाई लाग्छ । म यतिबेला कल्पना गरिरहेको छु जलमुखीबाट त्यो कुवामा झरेका भक्तजनको ताँती र व्यवस्थित कुवाको सम्भावित दृश्य । त्यतिबेला खड्कबहादुरहरू र खोपाको देवताका स्वरूपमा रहेका चन्द्रबहादुरहरू कतिको खुसी हुनुहोला र उहाँहरूको भूमिका के रहला थाहा छैन तर जलमुखीको महत्वको थप प्रचारप्रशार भने हुनेछ ।
यो अध्ययन भ्रमणको वातावरण मिलाउने र नेतृत्व गर्ने स्थानीय गुरु होमबहादुर आचार्य र माथि उल्लेख गरिएका सबै महानुभावहरूप्रति लेखक कृतज्ञता प्रकट गर्छ ।
अस्तु………..