धादिङबेसीमा बिधिवत लाखेनाच सुरु

धादिङबेसीमा बिधिवत लाखेनाच सुरु

  • Kandara Samachar

  • सोमवार, भदौ ३, २०८१

  • 56
    SHARES
धादिङबेसीमा बिधिवत लाखेनाच सुरु

धादिङ ।

धादिङबेसी लगायत नेवार समुदाय बसाेबास भएका स्माथानहरुमा  आइतबारबाट लाखे जात्रा सुरु भएको छ । जिल्लाको सदरमुकाम धादिङबेँसीमा विधिवत रूपमा लाखेलाई  पूजा गरी लाखेनाच लगाएर जात्राको सुरु गरिएको हो ।

लाखे जात्रा नेवार समुदायको मौलिक जात्रा हो । नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्ष्यमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो । लाखे जात्राको शुभारम्भ गर्दै धादिङबेँसीमा लाखेनाच लगाइएको हो । जात्राको शुभारम्भमा पियानो किबोर्ड, धा बाजा बजाएर लाखेनाच लगाइएको हो ।

झिंगु नेवाः समाज धादिङको आयोजनामा कला, संस्कृति, परम्परा र पहिचानलाई संरक्षण गर्ने र पछिल्लो पुस्तामा पुर्याउने उद्देश्यले जात्राको आयोजना गरिएको झिंगु नेवाः समाज धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयाे। जात्रामा सहभागीहरूलाई टीका लगाएर प्रसाद वितरण  गरिएको छ । अन्य समयमा रोक लगाइएको, तर नेवारी समुदायमा पूजाआजा गर्दा प्रयोग गरिने सगुनसमेत सहभागीहरूलाई दिएर जात्राको रौनक र नेवारी समुदायको झलक दिएका हुन् ।

राजा गुणकाम देवको पालादेखि लाखे जात्रा सुरु गरिएको भएता पनि राजा प्रताप मल्लको पालादेखि राक्षसको स्वरुपमा मुकुट लगाई कालिकाको वस्त्र धारण गरि लाखे नाँँच नाच्ने गरिएको पाइन्छ ।

काठमाण्डौं उपत्यकाबाट सुरु भएको यो जात्रा नेपाल अधिराज्यभर नेवार वस्तीहरुमा हुने गरेको छ । धादिङमा वि स २०६२ सालमा नेवार समुदायको आधिकारीक जिल्ला स्तरीय संस्था झिंगु नेवाः समाज, धादिङ स्थापना भएपछि सोहि संस्थाको पहलमा विभिन्न स्थानहरुमा लाखे जात्रा सञ्चालन हुदैं आएको छ ।

भाद्र ४ गते गाइजात्राको अवसरमा विहान साढे ७ बजे यस वर्ष मृत्यु भएका ६ जना नेवार समुदायका मृतकको फोटो सहित गाई निकालिने उनले बताउनुभयाे । दिउँसो २ बजे देखि मृतक परिवारको घरसम्म लाखे सहित गाई जात्रा परिक्रमा गरिनेछ । त्यसैगरी, भाद्र ५ गते हिले जात्राको दिन दिउँसो २ बजेदेखि धादिङबेसी बिचबजार क्याम्पस चोकदेखि साघुटार पुल्चोकसम्म खेत रोपाइको अभिनय गर्दै लाखे सहित परिक्रम गरिने, भाद्र ११ गते दिउँसो २ बजेदेखि सुगमटोल स्थित श्री राधाकृष्ण मन्दिरबाट भगवान श्रीकृष्णको रथ यात्रा निकाली लाखे सहित बजार परिक्रमा गरिने कार्यक्रम रहेको छ ।

भाद्र २१ गते हरितालिका तिजको अवसरमा धादिङबेसी बिच बजार चोकमा लाखे नाँच नचाइने र भाद्र २२ गते विहान साढे ७ बजे बिचबजार चोक स्थित गणेश मन्दिर अगाडी यो वर्षको लागि लाखे जात्रा विधिवत रुपमा लाखेलाई मारेपछि समापन गरिने आयोजकले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar