अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्वाचित : विदेशकाे ज्ञान सीप र पूँजी धादिङमा प्रयाेग गरिने

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्वाचित : विदेशकाे ज्ञान सीप र पूँजी धादिङमा प्रयाेग गरिने

  • Kandara Samachar

  • आइतवार, कार्तिक २, २०८३

  • 37
    SHARES
अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्वाचित : विदेशकाे ज्ञान सीप र पूँजी धादिङमा प्रयाेग गरिने
oplus_2

धादिङ ।

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो अन्तर्राष्ट्रिय महाधिवेशनले बद्री खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। विश्वका विभिन्न देशमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै जिल्लाको सामाजिक, आर्थिक तथा सांस्कृतिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले स्थापित समाजको महाधिवेशन धादिङबेँसीमा सम्पन्न भएको हो।

महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् भने उपाध्यक्षमा पारस भण्डारी, बाबुकाजी भण्डारी, शान्ता परियार, विनोद उप्रेती र सम्झना भण्डारी चयन भएका छन्। महासचिवमा कल्याण विक्रम कार्की, सचिवमा राजेन्द्र थपलिया, दिनेश लोहनी, सोमनाथ कँडेल र दिवाकर दहाल निर्वाचित भएका छन्। त्यसैगरी, कोषाध्यक्षमा रामकुमार थापा, सहकोषाध्यक्षमा दीपकचन्द्र भट्ट र चन्द्रप्रसाद थपलिया तथा संयोजकमा सुदीप सिंह विष्ट र श्यामहरि तिमल्सिना चयन भएका छन्। सदस्यमा सुमन (बुद्ध) परियार, संगम तामाङ, विक्रम गरञ्जा, विष्णुमाया सिंखडा, शिव सिटौला र सेवा लामा तामाङ निर्वाचित भएका छन्।

महाधिवेशनले विदेशमा रहेका धादिङवासीको ज्ञान, सीप, अनुभव, पुँजी र प्रविधिलाई जिल्लाको विकासमा उपयोग गर्ने विषयलाई प्राथमिकतामा राखेको छ। विदेशमा सिकेको सीप र अनुभवलाई जिल्लाको समृद्धिसँग जोड्ने, पर्यटन प्रवर्द्धन गर्ने, प्रविधिको विकास तथा विस्तार गर्ने र इभिलेजलगायतका अवधारणामार्फत धादिङको विकासमा योगदान पुर्‍याउने विषयमा समाजले काम गर्ने लक्ष्य लिएको छ। विश्वका विभिन्न देशमा रहेका धादिङवासीबीच आपसी सम्बन्ध र सहकार्य विस्तार गर्दै जिल्लाको सामाजिक तथा आर्थिक विकासमा प्रभावकारी भूमिका निर्वाह गर्नु समाजको प्रमुख उद्देश्य रहेको छ।

महाधिवेशनको उद्घाटन समारोह अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालको अध्यक्षतामा सम्पन्न भएको थियो। सांसद बोधनारायण श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सांसद गंगादेवी श्रेष्ठ, पूर्वमन्त्री रामनाथ अधिकारी, गैरआवासीय नेपाली संघका उपाध्यक्ष लोक दहाल, नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानालगायतको उपस्थिति थियो। कार्यक्रममा सहभागी अतिथिहरूले विदेशमा रहेका धादिङवासीको अनुभव, ज्ञान, सीप र पुँजीलाई जिल्लाको विकासमा उपयोग गर्न सके समृद्ध धादिङ निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गर्दै समाजको सफलताको शुभकामना दिएका थिए।

महाधिवेशनको अवसरमा २४४ पृष्ठको ‘देश–परदेश’ नामक स्मारिका विमोचन गरिएको थियो। स्मारिकामा ४९ वटा विषय समेटिएका छन्। धादिङको सामाजिक, आर्थिक, सांस्कृतिक तथा विकासका विविध पक्षलाई समेटिएको स्मारिकाले स्वदेश तथा विदेशमा रहेका धादिङवासीबीच सम्बन्ध विस्तार गर्न र जिल्लाको विकासबारे बहस अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

महाधिवेशनको उद्घाटन समारोहमा पत्रकारितामार्फत समाजमा सूचना प्रवाह गर्न तथा सञ्चार क्षेत्रको विकासमा योगदान पुर्‍याएको भन्दै पत्रकार तथा सञ्चारकर्मीहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा नेपाल समाचारपत्रका पत्रकार तथा नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष सीताराम अधिकारी, अनलाइनखबरका सुदर्शन खतिवडा, कान्तिपुर टेलिभिजनका पोषणाथ अधिकारी, बाह्रखरी डटकमकी सरिता श्रेष्ठ, जापानमा रहेर पत्रकारिता गर्दै आएका राजन गौतम र नीलकण्ठ एफएमका रामकुमार थापा रहेका छन्। उनीहरूलाई पत्रकारितामार्फत समाजलाई सुसूचित बनाउने तथा सञ्चार क्षेत्रको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो।

अन्तर्राष्ट्रिय धादिङ समाज गठनको सुरुवात २०७४ सालबाट भएको हो। २०७४ असोज १६ गते धादिङबेँसीमा भुवन गुरुङको संयोजकत्वमा सम्पन्न पहिलो भेलाले समाजको तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार २०७४ असोज ३१ गते काग तिहारका दिन धादिङबेँसीमा सम्पन्न भेलाले नानुकाजी अर्यालको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो।

समाजको विश्व भेला तथा पहिलो अधिवेशन २०७६ असोज २७ गते काठमाडौंमा सम्पन्न भएको थियो। उक्त अधिवेशनबाट नानुकाजी श्रेष्ठ अध्यक्षमा चयन भएका थिए। त्यसपछि २०७८ असोज २४ गते सम्पन्न दोस्रो अधिवेशनबाट राजन खकुराल अध्यक्षमा निर्वाचित भएका थिए। २०८१ असोज २३ गते सम्पन्न तेस्रो अधिवेशनले पनि खकुराललाई नै अध्यक्षको जिम्मेवारी दिएको थियो।

चौथो अन्तर्राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै समाजले प्रवासमा रहेका धादिङवासीलाई जिल्लाको विकाससँग जोड्ने, आपसी सहकार्य विस्तार गर्ने र जिल्लाको समृद्धिमा योगदान पुर्‍याउने अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। विदेशमा रहेका धादिङवासीको अनुभव र स्रोतसाधनलाई जिल्लाको आवश्यकता तथा सम्भावनासँग जोड्न सके शिक्षा, स्वास्थ्य, पर्यटन, प्रविधि र आर्थिक विकासका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास गरिएको छ।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar