धादिङ।
नीलकण्ठ नगरपालिका–८ स्थित बगैँचा योग साधना केन्द्रको छैटौँ वार्षिक उत्सव तथा दोस्रो अधिवेशनले अम्बिका सुवेदीलाई अध्यक्ष (प्रभारी) मा निर्वाचित गर्दै नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनले योग, साधना र ध्यानको प्रवर्द्धन गर्दै समुदायमा स्वस्थ जीवनशैली विस्तार गर्ने प्रतिबद्धतासहित नयाँ नेतृत्व चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको सह–प्रभारीमा शान्ति श्रेष्ठ, पुरुष सह–प्रभारीमा शरणकुमार श्रेष्ठ, मन्त्रीमा यामबहादुर श्रेष्ठ, कोषाध्यक्षमा विन्दा श्रेष्ठ तथा सह–मन्त्रीमा कल्पना थापा निर्वाचित हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा रुकमणी छत्कुली, सिता दुवाडी, गीता अधिकारी, सरिता श्रेष्ठ, हिरा श्रेष्ठ, रुद्रकुमारी श्रेष्ठ र विष्णु रिमाल चयन हुनुभएको छ।
समितिका सल्लाहकारहरूमा ज्ञानु कँडेल, रामकुमार थापा, चिजमाया श्रेष्ठ, भीमकुमार कुँवर, सिता सुवेदी, कमला श्रेष्ठ, कुन्ती आर्चा, प्रेम पाण्डे र पार्वती लोहनी रहनुभएको छ।
पतञ्जली योग समिति धादिङका अध्यक्ष तथा बगैँचा योग साधना केन्द्रका अध्यक्ष बद्रीप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मी गौतम पाण्डेय प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा बागमती प्रदेश पतञ्जली योग समितिका सह–प्रभारी कमल घिमिरे, धादिङका निवर्तमान जिल्ला प्रभारी राममाया बुढाथोकी, नेपाल पत्रकार महासंघ धादिङ शाखाका सभापति सिताराम अधिकारी, कान्तिपुर टेलिभिजनका उपसम्पादक पोषणाथ अधिकारी, नीलकण्ठ एफएमका आकाश लम्साल तथा समाजसेवी सुरेश आर्चायको विशेष आतिथ्यता रहेको थियो। साथै जिल्लाका विभिन्न योग साधना केन्द्रका प्रभारी, सह–प्रभारी, प्रशिक्षक तथा ठूलो संख्यामा साधक–साधिकाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मी गौतम पाण्डेयले आधुनिक जीवनशैलीका कारण बढ्दै गइरहेका मानसिक तनाव, नसर्ने रोग तथा सामाजिक विकृतिलाई न्यूनीकरण गर्न योग, साधना र ध्यान प्रभावकारी माध्यम भएको बताउनुभयो। उहाँले योगलाई गाउँ–गाउँसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउँदै संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले यसको प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्नुभयो। योगले शारीरिक स्वास्थ्यसँगै मानसिक शान्ति, अनुशासन र सकारात्मक सोचको विकास गर्ने भएकाले सबै नागरिकलाई नियमित योग अभ्यास गर्न उहाँले आग्रह गर्नुभयो।
वार्षिकोत्सवका अवसरमा केन्द्रले विभिन्न विधामा सम्मान कार्यक्रमसमेत आयोजना गरेको थियो। ८४ वर्ष उमेर पूरा गरेका तुलसी दुवाडी, गोविन्दप्रसाद आचार्य र कसलदेवी थापामगरलाई ज्येष्ठ नागरिक सम्मान प्रदान गरिएको थियो।
त्यस्तै, केन्द्रसँग आबद्ध परिवारका गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण भएका शञ्ज्ञा शर्मा, सुकृना श्रेष्ठ र काव्यकिरण अर्याललाई सम्मान गरिएको थियो।
योग साधनामा निरन्तर सक्रिय सहभागिता जनाउँदै वर्षभर सञ्चालन भएका योग शिविरमा २५७ दिन सहभागी हुने तारादेवी श्रेष्ठ, २५४ दिन सहभागी हुने चिजकुमार श्रेष्ठ तथा २३७ दिन सहभागी हुने चिनिमाया श्रेष्ठलाई उत्कृष्ट सहभागिताको सम्मान प्रदान गरिएको थियो। यसका साथै वर्षभर नियमित रूपमा योग साधनामा सहभागी हुने साधक–साधिका तथा सक्रिय युगल जोडीहरूलाई पनि सम्मान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागी वक्ताहरूले योगलाई स्वस्थ, अनुशासित र सकारात्मक समाज निर्माणको आधारका रूपमा विकास गर्न सबैको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। वार्षिकोत्सव तथा अधिवेशनले नयाँ नेतृत्व चयनसँगै योग साधनाको अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरिएको थियो।