धादिङकाे सल्यानटारमा जेठ महिनामा नृसिंहधाम पुरुषाेत्तम महामहाेत्सव : १०८ तिर्थयज्ञकाे पूर्णाहुती गरिने

धादिङकाे सल्यानटारमा जेठ महिनामा नृसिंहधाम पुरुषाेत्तम महामहाेत्सव : १०८ तिर्थयज्ञकाे पूर्णाहुती गरिने

  • Kandara Samachar

  • मङ्लबार, चैत्र ३, २०८२

  • 64
    SHARES
धादिङकाे सल्यानटारमा जेठ महिनामा नृसिंहधाम पुरुषाेत्तम महामहाेत्सव : १०८ तिर्थयज्ञकाे पूर्णाहुती गरिने
oplus_8388610

धादिङ

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारस्थित बुढीगण्डकी र नेत्रावती नदीको पवित्र संगममा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको नृसिंहधाममा “नृसिंहधाम पुरुषोत्तम महामहोत्सव” आगामी जेठ १ गतेदेखि सञ्चालन हुने भएको छ।

महोत्सवको तयारी, उद्देश्य तथा कार्यक्रमबारे जानकारी दिन रथयात्रा सुरु हुनुअघि धादिङबेसीस्थित नेपाल पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरियाे

मूल आयोजक समितिका प्रवक्ता कुशबहादुर सिटाैलाका अनुसार नृसिंहधाम प्राचीनकालदेखि नै धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण तीर्थस्थलका रूपमा परिचित छ। स्कन्दपुराण लगायतका शास्त्रीय ग्रन्थमा उल्लेख भएअनुसार भगवान् नृसिंहदेव यही पवित्र स्थलमा प्रकट भई दिव्य लीला गर्नुभएको धार्मिक विश्वास रहिआएको छ। साथै, विभिन्न अनुसन्धान तथा उत्खननबाट करिब १७०० वर्ष पुराना पुरातात्त्विक अवशेष फेला परेकाले यस धामको ऐतिहासिक महत्व अझ पुष्टि भएको आयोजकको भनाइ छ।

नृसिंहधामका पिठाधिस डा. श्रीवास कृष्णदास ब्रम्हाचारीले पत्रकारहरुलाई सम्बाेधन गर्दै धार्मिक मान्यताअनुसार भक्त प्रह्लादको तपोबलद्वारा स्थापित १२ नृसिंह पीठमध्ये नेपालमा अवस्थित एकमात्र पवित्र पीठ यही नृसिंहधाम भएकाले यसको विशेष महत्व रहेको उल्लेख गर्नुभयाे ।

प्रत्येक तीन वर्षमा आउने पुरुषोत्तम (अधिक) महिनालाई सनातन परम्परामा अत्यन्त पवित्र मानिन्छ। यही अवसर पारेर परापूर्वकालदेखि नृसिंहधाम क्षेत्रमा विशेष धार्मिक महोत्सव आयोजना हुँदै आएको र यस वर्ष पनि सोही परम्परालाई निरन्तरता दिँदै पुरुषोत्तम महिनाभर महोत्सव सञ्चालन गर्न लागिएको जनाइएको छ। विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको १०८ तीर्थ यज्ञ कार्यक्रमको पूर्णाहुति समेत यही धाममा हुने भएकाले यस पटकको महोत्सवलाई अझ भव्य र व्यवस्थित बनाउन तयारी गरिएको छ।

महोत्सव अवधिभर पुरुषोत्तम स्नान, व्रत–कथा महात्म्य श्रवण, प्रत्येक गोत्रका लागि छुट्टाछुट्टै हवनकुण्ड निर्माण गरी वैदिक विधिअनुसार हवन–पूजा, देश–विदेशबाट आमन्त्रित साधु–सन्त, विद्वान् तथा कथा वाचकबाट प्रवचन तथा धर्मोपदेश कार्यक्रम सञ्चालन गरिनेछ। यसका साथै ११ हजार शालिग्रामको सबालाख दण्डवती परिक्रमा, श्रीरामकथा वाचन, दैनिक भजन–कीर्तन, आरती तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछन्।

आयोजकका अनुसार भक्तजनहरूको आध्यात्मिक तथा भौतिक जीवनमा शान्ति, समृद्धि र उन्नति ल्याउने उद्देश्यले करिब एक लाख श्रद्धालुलाई निःशुल्क सिद्ध श्री लक्ष्मी–नरसिंह यन्त्र वितरण गर्ने कार्यक्रमसमेत तय गरिएको छ। साथै, आफ्नै हातले शालिग्राम स्थापना गरी आजीवन सेवा गर्ने, पितृका नाममा हवन गर्ने तथा पुरुषोत्तम महिनामा स्नान, जप, तप, दान, दीपदान जस्ता धार्मिक कार्यबाट अक्षय पुण्य प्राप्त हुने धार्मिक विश्वाससमेत जोडिएको छ।

महोत्सवको प्रचार–प्रसार तथा भक्तजनको सहभागिता बढाउने उद्देश्यले फागुन ३० गतेदेखि चैत २३ गतेसम्म २५ दिने देशव्यापी रथयात्रा सञ्चालन गरिनेछ। उक्त रथयात्रा देशका प्रमुख धार्मिक स्थल र सहरहरू हुँदै सञ्चालन गरिने आयोजकले जनाएको छ।

देश–विदेशबाट लाखौँ तीर्थयात्री तथा भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको यस महोत्सवले धार्मिक आस्था अभिवृद्धिसँगै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ। यसबाट स्थानीय व्यवसाय, होटल तथा आवास सेवा, यातायात, कृषि उत्पादन तथा साना तथा घरेलु उद्योगमा सकारात्मक प्रभाव पर्ने तथा रोजगारीका अवसर सिर्जना भई स्थानीय अर्थतन्त्र सुदृढ हुने नृसिंहधाम पुरुषाेत्तम महामहाेत्सव मुल आयाेजक समिति संयाेजक फणिकान्त छत्कुलीले बताउनुभयाे ।

महोत्सवलाई सफल बनाउन सञ्चारमाध्यम, स्थानीय तह, विभिन्न संघसंस्था तथा सरोकारवाला निकायसँग समन्वय र सहयोगको अपिल गरिएको छ। साथै, धादिङ जिल्लालाई धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्यसमेत लिइएको आयोजकले जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar