धादिङ ।
वैदेशिक रोजगारीका सिलसिलामा युरोपेली देश क्रोएसियामा रहेकी धादिङकी एक युवती मृत अवस्थामा फेला परेकी छन्। सेम्जोङ गाउँपालिका–३ गैरा घर भएकी २२ वर्षीया आनन्दी तामाङ गत शनिबार बस्दै आएको होस्टेलमा मृत फेला परेकी हुन्।
उनी करिब दुई वर्षअघि रोजगारीका लागि क्रोएसिया पुगेकी थिइन्। विदेशमा काम गर्दै आएकी तामाङ अचानक मृत फेला परेपछि परिवार तथा आफन्तजन शोकमा डुबेका छन्।
उनको मृत्यु कसरी भयो भन्नेबारे हालसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन। स्थानीय स्रोतका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
परिवारले घटनाको सत्यतथ्य छानबिन गरी यथाशीघ्र जानकारी उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्। साथै, मृतकको शव नेपाल ल्याउने प्रक्रिया सुरु गर्न समेत पहल गरिनुपर्ने माग गरिएको छ।
यस घटनाले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको सुरक्षा र अवस्थाबारे पुनः प्रश्न उठाएको छ।