
धादिङ ।
सिद्धलेक गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण गरिएको छ ।
गाउँपालिकाले २०८१ चैत मसान्तसम्म सबै बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप पाउनुपर्ने सबै खाले खोप लगाई पूर्ण खोप पाएको सुनिश्चित भएपछि आइतबार प्रमाणीकरण सभा आयाेजना गरिएकाे हाे ।
सिद्धलेक गाउँ पालिकाका एक हजार ९९ जना बालबालिकालाई खाेपलगाई सबै बालबालिकाले खाेप लगाएकाे स्वास्थ्य शाखा प्रमुख शंकरबाबु दुवाडीले जानकारी दिनुभयो ।
जिल्लाका सबै स्थानीय तहहरुमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा अभियान सञ्चालन भइरहेको अवस्थामा सिद्धलेक गाउँपालिकाले सबै सूचकहरु पूरा गरेपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जिल्ला पूर्ण खोप समन्वय समितिका सदस्य सचिव एवं जनस्वास्थ्य कार्यालय धादिङका निमित्त प्रमुख श्यामप्रसाद पोखरेलले बताउनु भयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख परशुराम खतविडाले सबैको प्रयासबाट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा भएको बताउनु भयो । अध्यक्ष खतिवडाले खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवालाई निरन्तरता दिन गाउँपालिका प्रतिवद्ध रहेको पनि बताउनु भयो । जिल्ला समन्वय समितिका उपप्रमुख कुलमा विश्वकर्माले सबै बालबालिकाले जन्म पश्चात खोप लगाउन पाउनुपर्ने र बाँच्न पाउने नैसर्गिक अधिकारको सुनिश्चितता गर्नु तथा गुणस्तरीय र प्रभावकारी खोप सेवा लक्षित वर्गसम्म पुर्याउनु सरकारको जिम्मेवारी भएको बताउनु भयो ।
उपप्रमुख विश्वकर्माले सरकारद्वारा उपलब्ध सेवालाई निरन्तर रुपमा उपभोग गर्नु समुदाय तथा अभिभावकको पनि दायित्व र जिम्मेवारी रहने बताउनु भयो ।गाउँपालिकाले खोप लगाउन छुटेका बालबालिकालाई खोजी गरी पूर्ण खोप लगाएपछि जिल्ला खोप समन्वय समितिलाई अनुगमनका लागि अनुरोध गरेको थियो । पालिकालाई पूर्णखोप सुनिश्चितता घोषणाका लागि जिल्ला खोप समन्वय समितिले अनुगमन गरी गरिसकेको छ । जिल्ला खोप समन्वय समितिको बैठकबाट पालिकालाई घोषणाका लागि अनुमति तथा जानकारी पत्र प्रदान गरेपछि आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख दुवाडीले बताउनु भयो ।
कार्यक्रममा महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई सम्मान पनि गरिएको छ । गाउँपालिका भित्रका सबै २७ जना महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सविता अर्याल, वडाअध्यक्षहरु सागर गुरुङ, सानू गिरी, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु लगायतले शुभकामना व्यक्त गर्नुभयाे ।
सिद्धलेकमा स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाई गरी १० वटा स्वास्थ्य संस्था रहेका छन् ।