थर मिल्ने व्यक्तिको विदेशमा मृत्यु भएको ईमेल पच्छ्याउँदा काठमाडौंका एक जनाले गुमाए ३२ लाख

थर मिल्ने व्यक्तिको विदेशमा मृत्यु भएको ईमेल पच्छ्याउँदा काठमाडौंका एक जनाले गुमाए ३२ लाख

  • Kandara Samachar

  • मङ्लबार, असार १२, २०८१

  • 11
    SHARES
थर मिल्ने व्यक्तिको विदेशमा मृत्यु भएको ईमेल पच्छ्याउँदा काठमाडौंका एक जनाले गुमाए ३२ लाख

काठमाडौं । झन्डै डेढ वर्षअघि सुन्धारा काठमाडौंका ५३ वर्षीय रामेश कायस्थ (नाम परिवर्तन) को जिमेलमा एउटा ईमेल आयो । उक्त ईमेल थियो आफूलाई टर्कीको आईएस बैंकका म्यानेजर बताउने ‘फुसुन तुम सवास’ को । यो नेपालीकै नक्कली नाम भन्ने पछि मात्र थाहा भयो ।

कायस्थलाई प्राप्त ईमेलमा लेखिएको थियो, “हाम्रो बैंकमा तपाईंको थर मिल्ने व्यक्तिको खाता रहेछ । अहिले उनको मृत्यु भयो । त्यसमा प्रशस्त रकम पनि छ । तपाईंले मैले भने अनुसार गर्नु भयो भने उक्त खाताको रकम तपाईंको बैंकमा आउँछ ।” उक्त ईमेलसँगै मृत्यु दर्ताको प्रमाणपत्र पनि समावेश गरिएको थियो ।

कायस्थले उक्त ईमेल बेवास्ता गरे । ईमेल पठाउने व्यक्तिले उक्त रकम पाउनका लागि कर तिर्नुपर्ने भनेकाले उनी तर्किरहे । उनले बेवास्ता गर्दा पनि पटक पटक ईमेल भने आइरह्यो ।

उनलाई रकम आउँछ भनी विश्वस्त बनाउन उक्त ईमेलबाट विभिन्न कागजात आउन थाले ।  धेरै नै ईमेल आएपछि कायस्थलाई पनि त्यसतर्फ रुचि जाग्यो । एक पटक बुझौं न, बुझ्दैमा के जान्छ भन्ने आशयले उनी ईमेलमार्फत कुराकानी गर्न थाले ।

ईमेल पठाउने व्यक्तिले जे जे भने कायस्थले त्यही प्रक्रिया अपनाउँदै गए । मागे अनुसारका कागजात पनि पठाए ।  उनी भन्छन्, “अन्तिममा आईएस बैंकको उक्त रकम मैले पाउनका लागि ट्याक्स वापतको शुल्क आवश्यक परेको र उक्त ट्याक्स रकम उनीहरूले भनेको अकाउन्टमा जम्मा गरिदिनु पर्ने भनियो । मैले उनीहरूले भने अनुसार नै रकम पठाउँदै गएँ ।”

१६ फागुन २०७९ मा सुरुमा उनले चार लाख रुपैयाँ नेपालकै कुनै बैंक अकाउन्टमा पठाइदिए । त्यसपछि केही समय उनीहरूले प्रक्रियामै रहेको जवाफ फर्काए । पछि ६ चैत २०७९ मा उनलाई पाँच लाख ८१ हजार रुपैयाँ पठाउन भनियो । कायस्थले त्यसै गरे ।

त्यसको १० दिनपछि अर्थात १६ चैत २०७९ मा अर्को खातामा ११ लाख २५ हजार रुपैयाँ पठाउन भनियो । उता टर्कीको खातामा भएको करोडौं रकमको लोभ, यता विभिन्न समयमा झन्डै १० लाख गइसकेको अवस्था । नपठाऊँ आफैंले बुझाइसकेको रकम डुब्ला भन्ने पीर, पठाऊँ उनीहरूले रकम दिने नदिने ठेगान छैन ।

कायस्थ रनभुल्लमा परे । केही विकल्प नभेटेपछि उनले भनिएकै बैंकमा सोही दिन ११ लाख २५ हजार रुपैयाँ जम्मा गरिदिए । त्यसको झन्डै दुई महिनासम्म आईएस बैंकको प्रतिनिधि बताउने व्यक्तिले प्रक्रिया अगाडि बढिरहेको उत्तर फर्काइरहे । फेरि १७ जेठ २०८० मा उनलाई  थप ११ लाख ३५ हजार रुपैयाँ पठाउन भनियो ।

त्यति बेलासम्म उनको २१ लाख रुपैयाँ गइसकेको थियो । अन्तिम पटक पनि उनले करोडौं रकम पाउने आशाले उनीहरूले भनेकै जति रकम पठाइदिए । त्यतिन्जेलसम्म पनि उनलाई रकम आउँछ नै भन्ने विश्वास थियो । उनी करोडौं रकम पाउने लोभमा पठाएको रकम र आउने नाफाको हिसाब गरिरहे । पछि ईमेलबाट सम्पर्क गर्न खोज्दा ईमेल पठाउने आईएस बैंकका म्यानेजरको जवाफ आउनै छोड्यो ।

“उनीहरूको भनाइलाई पत्याएर भने बमोजिमको रकम उनीहरूले भनेकै बैंक खातामा जम्मा गर्दै गएँ,” उनी भन्छन्, “पछि ईमेलमा कुरा गर्न खोज्दा उनीहरू सम्पर्कमै आउन छोडे । त्यसैले आफू ठगिएको महसुस गरी साइबर ब्युरोमा पुगें ।”

उनले साइबर ब्युरोमा आफू ठगिएको भन्दै १८ असार २०८० मा निवेदन दिए । निवेदन परेपछि ब्युरोको टोलीले त्यस घटनामा अनुसन्धान अगाडि बढायो । जुन ईमेलबाट कायस्थलाई ईमेल आएको थियो त्यसको थप विवरण पाउन साइबर ब्युरोले २२ असार २०८० मा गुगललाई पत्र पठायो । गुगलबाट प्राप्त विवरण र  कायस्थले रकम पठाएको बैंक अकाउन्ट विश्लेषण गरियो । त्यसबाट पर्साका ३१ वर्षीय मनोज ठाकुर र २६ वर्षीया आशाकुमारी ठाकुर तथा सङ्खुवासभाका २६ वर्षीय रविन रायमाझी उक्त ठगीमा संलग्न रहेको निष्कर्षमा प्रहरी पुग्यो ।

त्यसपछि सोझै २ वैशाख २०८१ मा प्रतिवादी बनाइएका व्यक्ति उपस्थित गराउन प्रहरीलाई पत्र प्राप्त भयो । ५ वैशाखमा प्रहरी वरिष्ठ नायब निरीक्षक विरेन्द्रसिंह धामीले प्राविधिक प्रहरी प्रतिवेदन पेस गरे । १२ वैशाख २०८१ मा कायस्थले जाहेरी दर्खास्त दिए ।

सो घटनामा संलग्न आरोपित तीनै जना फरार रहेको काठमाडौं जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रमा उल्लेख छ । उनीहरू विरुद्धको अभियोग पत्र २२ जेठ २०८१ मा दर्ता भएको थियो ।

के होला सजाय ? 

मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ मा ठगी गर्न नहुने व्यवस्था छ । सो दफाको उपदफा (२) मा भनिएको छ, “प्रयोजनको लागि कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएकोमा सो बमोजिम नगरी वा फकाई, झुक्याई वा अन्य कुनै किसिमले धोका दिई कुनै काम गरी वा गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानीपूर्वक कुनै किसिमको हानी, नोक्सानी वा क्षति पुर्‍याएमा वा आफ्नो वा अरू कसैको लागि कुनै लाभ प्राप्त गरेमा निजले ठगी गरेको मानिनेछ ।”

त्यसरी ठगी गरेको प्रमाणित भएमा प्रतिवादीलाई बिगो रकम फिर्ता गर्न र पाँच वर्षभन्दा माथि आठ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । यही माग राखेर अभियोग पत्र दर्ता भएको छ ।

साभार टेकपाना


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar