असिनापानीले घरबाहिरकाे सबै बाली नष्ट, रि, र झार्लाझ बढि प्रभावित

असिनापानीले घरबाहिरकाे सबै बाली नष्ट, रि, र झार्लाझ बढि प्रभावित

  • Kandara Samachar

  • बिहिबार, चैत्र २२, २०८०

  • 80
    SHARES
असिनापानीले घरबाहिरकाे सबै बाली नष्ट, रि, र झार्लाझ बढि प्रभावित

प्रविन रिजाल/धादिङ ।
उत्तरी धादिङको गंगाजमुना, रुबीभ्याली, खनियाबास गाउँपालिकाको विभिन्न भागमा परेको असिनापानी र हुरीबतासले बारीमा लगाइएको र टिप्नेबेलाको बालीनाली नष्ट गरेपछि किसानहरु चिन्तित भएका छन् ।
दुई दिन लगातार हुरीबतास र एक दिन असिना परेपछि गंगाजमुना गाउँपालिका वडा नम्बर १ को रि क्षेत्रको बालीनाली सम्पूर्ण रुपले नष्ट भएको छ भने रुखको बोक्रा समेत असिनाले नष्ट गरेको पाइएको छ ।
५ सय विरुवा कफीको फल टिप्ने बेला भएको अवस्थामा सबकै असिनाले झारेर बगाएर लगेपछि आफ्नो आम्दानी हुने बाटो टुटेको गंगाजमुना गाउँपालिका वडा नम्बर १ का पुतले तामाङले बताउनुभयो ।
गंगाजमुना गाउँपालिका वडा नम्बर १ मा मात्र ८ क्वीन्टल कफी नष्ट भएको छ । अलैँची गत वर्षमात्र ७ हजार विरुवा वितरण भएको र यस अघिपनि यो भन्दा बढी संख्यामा रहेकोले यस वर्ष उत्पादन लिनै नसकिनेगरि असिनाले धुलोपिठो पारेको पुतले तामाङको भनाइ छ ।
गाउँमा हरियाली भन्ने चिज सबै असिनाले खाएकोले तत्कालका लागि गाउँमा तरकारीको अभाव भएको छ । गाइबस्तुका लागि पराल र सुकेको नल बाहेक केही बाँकी नभएको र सबै बनस्पति समेत भुँइमा बिलाएर गएको ताजिम्राङ सामुदायिक स्वास्थ्य इकाका रमेश तामाङले टेलिफोनबाट बताउनुभयो ।
मकै उम्रेर गोडमेल गर्न थालिएको थियो । गहुँ र जौ पाक्दै थियो । आलु जेठ असारमा मात्र खन्ने बेला हुन्छ । लसुनको पात खानेबेला भएको थियो प्याज गेडा लागेकै थिएन । बारीमा भरखर सिमि उम्रेको थियो । केराउ दाना लाग्दै थियो । यस्तो अवस्थामा आएको असिनाले सखाप नै पारेपछि अर्कोवर्ष गाउँमा भोकमरी लाग्ने अवस्था आएकोले स्थानीइ सरकार र प्रदेश स्रकारसंग कृषकका लागि राहत दिन आनुरोध गरेको वडा अध्यक्ष बहादुर तामाङले बताउनुभयो ।
गाउँपालिकाको वडा नम्बर १ र २ को क्षेत्रमा बाहिर हरियो चिन नै नभएको र घरभित्र भएको केही अन्न र तरकारीले एक महिनाभन्दा बढी नपुग्ने अवस्थामा गाउँबासी रहेको वडा अध्यक्ष तामाङको भनाइ छ ।
असिना पानी र हुरीबतास एकै पटक आएपछि गाउँमा रहेको सितलादेबी आधारभुत विद्यालय भवन समेत डाएर लगेको छ । हाल विद्यालय बन्द छ । विद्यालयमा १ सय १७ विद्यार्थी थिए । विद्यालय विदा भएपछि साँझपख हुरीबतासले विद्यालय भवन जस्ता उडाएको हो ।
गंगाजमुना गाउँपालिका वडा नम्बर १ मा ९ सय ५० घरधुरी रहेको र सबै घरधुरीको करिब १२ करोड भन्दा बढीको प्रत्यक्ष क्षति पुगेको ले तथ्यांक संकलन भइरहेको जनप्रतिनिधिहरुको भनाइ छ ।
सबै घरमा लगाइएको जस्ताको छानाको बिचमा उज्यालोको लागि हालिएको टल्किनेजस्ता फुटेको छ भने ३ घरको जस्ताको छानो उडाएको छ ।
गंगाजमुना गाउँपलिकाको रि क्षेत्रमा विगत ३ वर्षदखि कोदो बाली समेत नफलेर गाउँमा समस्या पर्दै आएको थियो । अहिले असिनाले सबै बाली मासेपछि गाउँपालिका कार्यालय समेत अन्यौलमा परेको छ । हालसम्म कुनै निर्णय नगरेपछि गाउँपालिका अध्यक्ष भक्त लामाले प्रदेश सरकार, संघीय सरकारसंग समन्वय गरेर जनतालाई रहत दिने कार्यक्रम ल्याउने बताउनुभएको छ ।
खनियाबास गाउँपालिकाको क्षेत्र र रुबीभ्याली गाउँपालिकाको क्षेत्रमा समेत असिनापानीले बालीनाली नष्ट पारेकोले गाउँपालिकाले वडाहरुलाई तथ्यांक संकलन गर्न आग्रह गरेको छ भने स्थानीय बासी यसवर्षको मकै,, जौ, गहुँ, आलु, केराउ लगायतका बाली नष्टभएकोले अर्को वर्ष कसरी परिवार पाल्ने भन्ने चिन्तामा रहेका छन् । स्थानीइ सरकारले हालसम्म कुनै राहतका लागि योजना ल्याएको छैन ।
गंगाजमुना गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बहादुर तामाङले भने कृषि ज्ञान केन्द्रमा पुगेर पछि रोपेर हुने मकैको जातको खोजी गरेको र कृषि विकास कार्यालयले खासै चासो नदेखाएको दुखेसो गर्नुभयो ।

झार्लाङमा खानेकुरा छैन
उत्तरी धादिङको झार्लाङमा हावाहुरीसँगै परेको असिना पानीले किसानले लगाएका खाद्यान्न तथा तरकारी र मसलाबाली नष्ट भएकाे छ ।
खर्शानी, मकै, केराउ, धान र तरकारी बाली नष्ट गरेको छ। उत्तरी धादिङको खनियाबास गाउँपालिका वडा नंबर १ र २ का विभिन्न ठाउँमा बाली सखाप बनाएको छ। किसानले लगाएका बाली मात्र नभई बाटो पनि पहिराेले पुरिएको छ स्थानीय मनमाेहन लामाले जानकारी दिनुभयाे ।

वर्षदिनभरी खानका लागि लगाएको अन्नबाली क्षणभरै सखाप बनाएपछि झार्लाङ १ छाप्चेतका किसान शेर बहादुर तामाङ चिन्तित छन्। ‘उत्पादन भएर बेच्न लैजाने बेला भएको खुर्शानी, तरकारी बाली असिना पानीले सखापै पारिदियो’ तामाङले भन्नुभयाे, ‘सरकारले हामीलाई राहतको व्यवस्था गरिदिनु पर्यो।’

तामाङले २५ रोपनी खेतमा मकै र तरकारी बाली लगाएका छन्। खेतमा लगाएको मकै भर्खर चमरा निस्कने बेला भएको थियो। खुर्शानी, काँक्रो लगायतका तरकारी भर्खर टिप्ने बेला भएको थियो तर असिनाले खुसी लुटिएको किसानहरू बताउँछन्।
असिनाले नगदे बाली र अन्न बाली नष्ट गरेपछि सम्बद्ध कृषकले क्षतिपूर्ति माग गरेका छन्। अधिकांश किसानले असिनाले लाखौंको रुपैयाँको तरकारी नष्ट गरेको भन्दै किसानलाई राहत दिन र ऋण तिर्न सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।
असिनाले खनियाबास गाउँपालिका वडा नं १ को छापचेत, गर्स्योङ,च्यमथली र वडा न-२ काे कोखिम, क्युङ, थलि, न्यान्चो, युङवला, लगायतका ठाउँमा लगाइएको तरकारी बाली नष्ट गरेको छ। दुवै वडामा सयाैँ रोपनी जग्गामा लगाइएको धान र तरकारी बाली नष्ट गरिएको झार्लाङ -१ का एलिया तामाङले जानकारी दिनुभयाे । ‘असिना पानीले तरकारी र अन्न बालीमा धेरै क्षति पुर्याएको छ’ एलिया तामाङले भने, ‘कहाँ कति कति क्षति भयो भन्ने विवरण संकलन नगरेसम्म भन्न नसकिने अवस्था छ।’
कृषि पेशामा नै निर्भर हुँदै आइरहेका यस क्षेत्रका किसानहरू हुरीबतास संग अाएकाे पानी र असिनाले गहुँ, जाै, मकै, अालु, केराउ, खुर्सानी, साग, लसुन, प्याज, लगायतका बालि नष्ट गरेकाेले अागामि वर्ष खाने अन्न र तरकारीका कारण यश क्षेत्रमा खाद्य संकट निम्तिने अवस्थामा पुगेकाे वडा अध्यक्ष अरुणकुमार पाख्रिनले बताउनुभयाे ।
तरकारी खेती नै गरेर जीवन निर्वाह गर्नेहरुको खुसी लुटिएको किसानहरू बताउँछन्। असिनापानीले किसानले लगाएको खेतीबाली बगर जस्तै बनाएको खनियाबास गाउँपालिका वडा न -१ र २ बासी बताउँछन् । असिनापानीले हिउँदमा खनिएको बाटो समेत भत्काइदिएर हिल्लामे भएको छ । ‘किसानले लगाएको बाली पनि सखाप बनाएको छ।’ किसानलाई क्षतिपूर्ति वितरणका लागि कृषि विकास कार्यालय र गाउँपालिकाले छलफल गर्न माग गरेका छन।
यस क्षेत्रमा उत्पादन भएको खुर्शानी,तरकारी धादिङ,काठमाडौँ, चितवन, पोखरा लगायतका ठाउँमा लैजाने गर्दछ। तरकारी खेती गरेर जीवन निर्वाह गरेका किसानहरूको खेती नष्ट गरेपछि चिन्तित बनेका छन।
असिनाले बाली नष्ट गरेपछि किसानहरुलाई राहत दिनका लागि खनियाबास गाउँ पालिकामा खबर गरि तथ्यांक संकलन गर्न लागिएकाे खनियाबास गाउँ पालिका वडा नम्बर २ का वडा अध्यक्ष पाख्रीनले नेपाल समाचार पत्रलाई बताउनुभयाे ।
खनियाबास गाउँ पालिका वडा नम्बर १ मा ४ सय ५० घर र वडा नम्बर २ मा ६ सय ५३ घर रहेकाे छ ।
यश क्षेत्रका सबै घरले लगाएकाे बालि सम्पुर्ण रुपमा नष्ट भएकाे हाे ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar