अखाद्य रङ मिसाइएका ५० हजारको माछा नष्ट

अखाद्य रङ मिसाइएका ५० हजारको माछा नष्ट

  • Kandara Samachar

  • बुधबार, अशोज १०, २०८०

  • 159
    SHARES
अखाद्य रङ मिसाइएका ५० हजारको माछा नष्ट

सीताराम अधिकारी/धादिङ

मानिसको स्वास्थ्यलाई नकारात्मक असर गर्ने, खानका लागि अयोग्य भनिएको रङ प्रयोग भएका माछा जिल्ला अनुगमन समितिले मलेखुबाट ५० हजारभन्दा बढीको जफत गरेको छ ।

माछा बजारको चर्चित मलेखु बजारमा चाडबाडसंगै अनुगमन गरिएकोमा अखाद्य रङ प्रयोग भएका होटलहरुबाट ठूलो परिणाममा माछा बरामद गरिएको हो ।

“मेटल कलर” जसलाई खानका लागि अयोग्य भनिन्छ सोही रङ प्रयोग गरेर तयार गरिएका माछा १० होटलहरु र एक थोक विक्रेताबाट जफत गरि नष्ट गरिएको जिल्ला अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिनुभयो ।

मानव स्वास्थ्यका लागि हानिकारक कोलतार रङ्ग (सिम्पेथिक फुड कलर) मिसावट गरेको भेटिएको हो । यो एक किसिमको मेटल कलर पनि हो ।

सबैले मिठो मानेर मलेखुको माछा खानेक्रममा यस किसिमको रङ लगाइ बनाइएको माछा खाँदा मानव स्वास्थ्यमा समस्या आउने भएकोले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर रङ प्रयोग भएका सबै माछा जफत गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयले गरेको अनुगमनको क्रममा विक्रिका लागि राखिने अधिकांश माछामा रङ्ग मिसाएको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली बताउनुभयो । राम्रो देखाउनका लागि माछा प्रशोधन गर्ने र आगोमा सुकाउने बेलामा नै रङ्ग मिसाउने गरेको पाइन्छ ।

अनुगमनको क्रममा ५० हजार रुपैंया बराबरको माछा जफल गरेको छ । होटलहरुले सिलमा सजाएर पसल अगाडि झुण्डाएका माछा र प्रशोधन गर्दै गरेको ठाउँबाट भेटेका जति सबै माछा जफत गरेर नष्ट गरेको हो । आलो माछा, सुकाइएको माछा, सिल गरेर विक्रि गरिरहेको माछा, खान नहुने रङ लगाइएको जति जफत गरिएपछि खाडल खनेर पुरिएको थियो ।

एउटा माछा प्रशोधन स्थलबाट थोक विक्रि गर्ने पसलबाट समेत ठूलो परिणाममा माछा सबै जफत गरिएको थियो । अनुगमन टोलीले अनुगमन गरिएका सबै पसलमा खान अयोग्य रङ प्रयोग भएको पाइएको हो ।

माछा जफत गरिएका धेरैजसो होटलहरुमा यस अघि पनि अनुगमन हुँदै आएको थियो । होटल अनुगमनको क्रममा यस अघि भएका अनुगमनको आधारमा जरिवाना गर्नु पर्नेमा यस पटक भने अनुगमन टोलीले माछा जफत गरेर छाडेको छ ।

सरसफाइ नभएको लगायतका विषयमा मलेखुका ३ ओटा होटललाई भने जरिवाना गरिएको पराजुलीले जानकारी दिनुभयो ।

माछामा राङ प्रयोग गर्नेहरुलाई अनुगमन टोलीले माछा जफत गरेपछि अब आइन्दा रङ्गको प्रयोग नगर्न सुझाव दिएको छ । एक पटकलाई जरिवाना नगरि व्यवसायिलाई सुध्रिन र सुधार गर्न निर्देशन दिएको र पुनः रङ प्रयोग गरेको पाइएमा उपभोक्ता हित र खाद्य ऐन अनुसार कारबाही गर्ने अनुगमन समितिले जनाएको छ ।

अनुचित व्यापारिक क्रियाकलाप अन्तर्गत दुईदेखि तीन लाखसम्म जरिवाना गर्न सक्ने कानूनी व्यवस्था छ ।

यस अघिका अनुगमनको समेत तथ्याङ्क हेर्ने गरेको बताइएको अनुगमन टोलीले कसैको पावर र पहुँचको आधारमा कारबाही र उन्मुक्ति हुन नहुने उपभोक्ताहरुको माग छ ।

पटक पटक अनुगन गरेर अखाद्य वस्तुको बारेमा सिकाएपनि अटेर गरिरहेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नुवाकोटका खाद्य निरिक्षक नवराज श्रेष्ठले बताउनुभयो । विक्रिका लागि माछा सेकाउने बेलामा नै कोलतार रङ्गको प्रयोग गरेको पाइयो, यो रङ्ग पकाएर खाँदा रसायनिक प्रतिकृया गरेर विषाक्त वस्तु बन्छ, त्यस्ता विषाक्त वस्तु मानव शरीरमा प्रवेश भएपछि क्यान्सर, किड्नी लगायतका अंगमा प्रत्यक्ष असर पार्नेछ’, उहाँले भन्नुभयो ।

राजमार्गका होटल तथा पसलहरुमा यसअघिदेखि नै पटक पटक अनुगमन गरि सामान्य कारबाही गरिरहेकोले अबको अनुगमन प्रकृया भनेको चर्काे कारबाही गर्ने र अटेर गर्नेको व्यवसाय नै सिल गर्नेसम्मको निर्णय लिन बाध्य हुने घरेलु तथा साना उद्योग कार्यालय धादिङका प्रमुख मेघनाथ गौतमले बताउनुभयो । उपभोक्ता संरक्षण ऐन र प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन अनुसार पाँच हजारदेखि तीन लाखसम्म जरिवाना गराइने गौतमले बताउनुभयो । ‘कानूनले व्यवस्था गरेअनुसार अन्दस्पर्ट कारबाही गछौं, कैफियत अनुसार जरिवाना गर्न पछि हट्दैनौं’, गौतमले भन्नुभयो ।

चाडवाडको अबसरमा नियमित अनुगमन चलीरहेको छ । मंगलबार धुनीबेसी नगरपालिका क्षेत्रका होटलमा अनुगमन गरेको छ ।

–––


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar