 
                                                                                                      धादिङ,२४ साउन।
सम्सदमा पेश गर्ने तयारी गरिएको विद्यालय शिक्षा सम्बन्धी विधेयकलाई लिएर निजी विद्यालय सञ्चालकहरुले सच्याउन माग गर्दै आन्दोलनमा उत्रिएका छन्।
धादिङबेशीमा प्याब्सन र नेशनल प्याब्सनले संयुक्त पत्रकार सम्मेलन गर्दै कम्पनी मार्फत सञ्चालित विद्यालयहरुलाई ५ वर्षभित्र गुठीमा रुपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी निजी लगानीको क्षेत्रलाई निरुत्साहित गर्ने र मास्ने अभिप्रायले विधेयक ल्याइएको आरोप लगाउदै बिभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
सम्सदमा पेश गर्नु अघि नै सच्याएर विधेयक पेश गर्नुपर्ने निजि विद्यालय संचालकहरुले माग गरेका छन् ।
शैक्षिक गुठीमा रुपान्तरित हुनका लागि प्रोत्साहन गर्नुपर्नेमा सो सम्बन्धमा आवश्यक ऐन,प्रावधानहरुने तयार नगरी हठात रुपमा पाँच बर्ष भित्रमा शैक्षिक गुठीमा रुपान्तरित हुनुपर्ने बाध्यात्मक प्रावधान संविधानको मर्म र भावना विपरित अलोकतान्त्रिक,अव्यव्यहारिक र अन्यायपुर्ण भएको, सम्पत्तिको हक विरुद्ध भएकाे, समग्र छात्रवृत्ति व्यवस्थापनका सम्बन्धमा विद्यमान विभेदकारी नीतीलाई सम्बोधन गर्न आवश्यक प्रावधानको व्यवस्था नगरिएको लगाएतका बिभिन्न बाध्यात्मक प्रावधानहरुमा विमत्ति रहेको प्याब्सन धादिङका अध्यक्ष विनोदमान श्रेष्ठले पत्रकार सम्मेलनमा बताउनुभयो ।
अहिले विधेयकमा भएका केही बाध्यात्मक प्रावधान संविधानको भावना विपरीत, अव्यावहारिक र दुराशययुक्त रहेकोले आन्दोलन गर्न बाध्य भएको नेसनल प्याब्सन धादिङका अध्यक्ष इश्वरी प्रसाद पाण्डेले बताउनुभयाे । 
शिक्षा ऐन संशोधन र निजी लगानीमा सञ्चालन गरिएका शैक्षिक संस्थाहरुलाई व्यवस्थित, मर्यादित र लगानीको सुरक्षाका बारेमा आवाज उठाउंदै आएपनि बेवास्ता गरेको निजी विद्यालयका सञ्चालकहरुको आरोप छ । सरोकारवालाहरुसँंग छलफल नै नगरी शिक्षा मन्त्रालयले मन्त्रिपरिषदमा पेश गर्नु दुःखद भएको उनीहरुको भनाई छ ।
हाल तयार गरिएकाे ड्राफ्ट नसच्याए विद्यालय बन्द गर्ने र अाफ्नाे  सवारी साधन सडकमा राखेर विराेध गर्ने अान्दोलन कार्यक्रम तय गरेकाे छ ।
 
                     
                             
                                                     
                                                     
                                                     
                                                     
                                                    