मुक्कासहितको सेवा

मुक्कासहितको सेवा

  • Kandara Samachar

  • मङ्लबार, साउन १६, २०८०

  • 205
    SHARES
मुक्कासहितको सेवा

✍️ मनाेहर पाेखरेल

कार्यालयभित्र प्रवेश गरिसकेको थियो । एकाएक फर्किएर दौडिदै मुक्का बर्षाउन थाल्यो । अरु सबैले उहाँ पत्रकार र अधिकारकर्मी भन्दै रोक्ने प्रयास गरिरहेका थिए । उ “जो सुकै भएपनि मलाई केही फरक पर्दैन्” भन्दै कुर्लदै थियो ।
प्रहरी कार्यालय परिसरमा आक्रमण गर्नुलाई उसले आफ्नो पुरुषार्थ सम्झिरहेको थियो । एउटा मनले भन्यो जस्तालाई त्यस्तै जवाफ फर्काउनु पर्छ । तर सम्हालिए । आक्रमण त बहादुरले होइन कायरले गर्छन् । पराजित मानसिकताको उपज आक्रमण हो भन्ने ज्ञान छ मलाई । कुराकानीमा पराजित भएर नै फर्किसकेको उसले एकाएक दौडिदै आएर अन्तिम बल प्रयोग गरेको थियो ।
व्यक्तिको जीवनमा हरहमेशा जोडिने र निकट रहने सरकारको प्रतिविम्ब थियो उ । उसले गर्ने व्यवहारका आधारमा राज्यप्रतिको धारणा निर्माण हुने कुराले चिन्तित बने र मुस्कानसहितको सेवा सम्झिए । अनुहार जोगाउन हातले छेके, बुटले अण्डकोषमा प्रहार गरयो । ‘मुक्कासहितको सेवा’को प्रत्यक्ष अनुभव गरे । सपना झै लाग्यो । यो खबर सुनेर धेरैले पत्याएनन् । म आफै पनि पत्याउन नसकिरहेको घटना अरुहरुलाई पनि पत्याउन गाह्रो हुनु स्वभाविक नै थियो । तर वास्तवमा कल्पना नगरेको घटना भयो । आमनागरिकले तिरेको करबाट प्राप्त तलबभत्ता, सुविधा र बर्दीको आडमा जनताकै करबाट किनिएको बुट वर्षिदा देख्नेहरुलाई पनि आश्चर्य नमानी सुख थिएन् । मुक्का, लात्ती बर्साइरहेका प्रहरीलाई देख्दा सबैका आँखीभौं आश्चर्यले उचालिएका थिए । सेवा लिन आएका यतिका धेरै सेवाग्राहीले प्रत्यक्ष देखिरहेको समयमा त प्रहरीको यस्तो व्यवहार रह्यो भने कसैले नदेखेका ठाउँमा कति बर्बर आक्रमण गर्दा हुन् ।
पछिल्लो समय सप्तरीमा प्रहरीको यो र यस्ता व्यवहार प्रहरी कार्यालयमा मात्र होइन जहाँसुकै उस्तै देखिन थालेको छ । मलाई मात्र होइन बेलाबेलामा राजनीतिकर्मी, सञ्चारकर्मी, अधिकारकर्मी, कानुन व्यवसायी, शिक्षक, कर्मचारीलगायतमाथि गरिने यस्ता व्यवहारबाट प्रहरीले आफ्ना कर्मचारीलाई आवश्यक तालिम दिन सकेको रहेनछ भन्ने महसुस भयो । जिल्लाको शान्तिसुरक्षाको अवस्था र प्रहरीमाथिको विश्वासको वातावरण अहिले भिन्न बन्दै गएको छ । प्रहरीले अपनाउनु पर्ने आचारसंहिता, न्यूनतम कला र व्यवहार नसिकेका प्रहरीले एकाएक लाठी, लात्ती र मुक्काको उपयोगलाई प्राथमिकतामा राखेको देखिएको छ । यसले मुस्कानसहितको सेवा नभई ‘मुक्कासहितको सेवा’ सार्थक हुन पुगेको छ ।
मलाई सप्तरी जिल्ला बार एकाई र उच्च अदालत बार एकाईको छुट्टाछुट्टै कार्यक्रमको निम्तोमा पुग्नुपर्ने हतारो थियो । बैद्य–प्रकाश मानव अधिकार स्मृति कोषको सदस्य सचिवको नाताले ३१औं प्रकाश काफ्ले स्मृतिमा हुने मंगलबारको कार्यक्रमको अन्तिम तयारी सम्पन्न गर्नुपर्ने थियो । समयअभावले तिरहत गाउँपालिका–४ डिमनका अयोधी यादवको गुनासो सुन्न पनि उहाँलाई व्यानर बनाउने ठाउँमा नै बोलाएको थिए । त्यसपछि दुईओटा समाचार लेखेर पठाउनु पर्ने दैनिक कर्म पनि पुरा गर्नु थियो । तथापि घरमै आएर गुनासो गरेका पीडितहरुप्रति प्रहरीको व्यवहार र उजुरीका विषयमा प्रहरीको भनाई बुझ्न प्रहरी कार्यालय जाने कामलाई प्राथमिकता दिनु पहिलो कर्तव्य ठाने । गर्भपतनको जाहेरी सनाखत गर्न अलमल गरिरहेको, बलात्कारको मुद्दा मेलमिलापका लागि पठाइरहेको र संवेदनशील अपराधको घटना क्रिया शपथ गरेर टुंग्याउन खोजिरहेको व्यवहारले म खिन्न भएँ । उजुरी दर्ता गरे पनि, नगरे पनि समाचारको विषय बन्थ्यो । समाचार लेख्नु मेरो दैन्दिनको काम नै थियो । तर पनि उजुरी दर्ता भएर स्वतन्त्र अनुसन्धान भइदिए मनले बढी सन्तोष पाउँथ्यो । प्रहरीको दृष्टिकोण र व्यवहार स्वयम बुझेर बाँकी काम फत्ते गर्ने मनसायले प्रहरी कार्यालयबाट निक्लिनै लाग्दा दुव्र्यवहार गरिरहेका प्रहरीले मुक्कासहितको सेवा प्रदान गरयो । उसले कार्यालय प्रमुखकै अगाडि पश्चाताप गर्नुको बदला हाकाहाकी कुटेको कुरा गर्वका साथ स्विकार गरेको कुराले झनै आश्चर्यचकित बनायो । बाखा हरायो भन्दा पनि बाघ पल्किएको पो हो कि भन्ने आभाष मिल्यो ।
यस घटनाबाट दुखित भई फोन गरेर तथा अस्पताल आई भेटेर जिज्ञासा राख्नुहुने, सामाजिक सञ्जाललगायतका माध्यमबाट चिन्ता जाहेर गर्नुहुने, स्वास्थ्य लाभको कामना गर्नुहुने, प्रेस विज्ञप्तिमार्फत घटनाको निन्दा गर्दै दोषीमाथि कारवाहीको माग राख्नु हुने, दवाव सृजना गर्नुहुने, वैठक, भेला, आन्दोलन गर्नुहुने, हरपल साथ रहनु हुने सबैप्रति हार्दिक नमन गर्दछु । मेरो जन्मभूमि र कर्मभूमिले मप्रति देखाएको अगाध माया, स्नेह र सद्भावका निम्ति धन्यवाद व्यक्त गर्दछु । यही नै मेरो पुँजी र शक्ति पनि हो । यो शक्ति नै मेरो कलमको मसी हो । प्रजातन्त्र होस की संघीय लोकतान्त्रिक गणतन्त्रको आन्दोलनमा चिसा छिडीमा थुनिदा पनि जेलभित्रै “बन्दी आवाज” पत्रिका निकालिरहेको यो कलम कहिले नुहुने छैन् । ढुक्क हुनुहोस् इतिहास लेख्ने, बर्तमानको बिष्लेषण गर्ने, भविष्यको मार्ग चित्र कोर्ने सृजना कहिले अवरुद्ध हुने छैन् । देश–महादेश डुल्ने, न्याय–अन्याय नियाल्ने, स्वाभिमान र स्वतन्त्रता लेख्ने कलमले आवाज बिहिनहरुको आवाज ओकलिरहने छ । बेइमानीहरुको खबरदारी गरिरहनेछ । युगको आवश्यकता कोर्ने यो कलमलाई कसैले एक्लो देख्ने दुस्साहस नगरे हुन्छ । कलम लाखौ–करोडौको प्रतिबिम्ब हो । तसर्थ एउटा कलम भूगोल, जाती र धर्मको सिमानामा सिमित हुँदैन । जनभावना बुझ्ने, दुःख र बेदनाहरु सुन्ने, उत्पिडनविरुद्ध वकालत गर्ने कलम सँगै करौडौ मुट्ठीहरु जुरुक्क उठने छन, करोडौ मान्छेहरु संयुक्त जुटने छन । मुक्का बर्सियोस कि बुट बज्रियोस् असहायहरुको ब्यथा देख्ने, सुशासनको वकालत गर्ने यो कलम कहिँ कतै रोकिदैन । कहिल्यै निदाउदैन । कहिल्यै थाक्दैन ।
-गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको शैयाबाट २०८० साउन १६ गते)


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar