धादिङ ।
धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र रोजगारी सृजनालाई प्राथमिकतामा राख्ने घोषणा गरेका छन्।
वर्तमान राजनीतिक संकट, संसद् विघटन र समयअगावै तोकिएको निर्वाचनको सन्दर्भ उल्लेख गर्दै उनले विगतमा मतदातासमक्ष गरेका प्रतिबद्धता पूरा गर्न नपाएको भन्दै पुनः उम्मेदवारी दिएको स्पष्ट पारेका छन्। भाद्र २३ गतेको घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले लोकतन्त्र र जनअधिकारको पक्षमा निरन्तर संघर्षरत रहेको बताएका छन्।
प्रतिबद्धता पत्रअनुसार धादिङ क्षेत्र नं. १ कै जेठो आदर्श बहुमुखी क्याम्पसलाई विज्ञान तथा सूचना प्रविधि (आईटी) शिक्षा र सीप विकासको केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारिएको छ। बेनिघाट–रोराङ गाउँपालिका–३ मलेखुस्थित राजमार्ग सामुदायिक अस्पताललाई ५० शैयामा स्तरोन्नति गर्ने तथा थाक्रे गाउँपालिका–१ विर्ताचौरमा क्यान्सर अस्पताल स्थापना गर्न पहल गर्ने उल्लेख गरिएको छ।
खेलकुदतर्फ पृथ्वी राजमार्ग आसपासका पालिकामध्ये उपयुक्त स्थानमा क्रिकेट मैदान निर्माण गर्ने, धुनिवेशी नगरपालिका–५ धार्के र सिद्धलेक गाउँपालिका–७ बर्खेघाटका फुटबल मैदानलाई राष्ट्रियस्तरको बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
कृषि क्षेत्रमा उत्पादित तरकारी, दूध तथा फलफूलको समर्थन मूल्य तोकी सरकारले खरिद गर्ने व्यवस्था मिलाउन कानुनी पहल गर्ने तथा रासायनिक मल कारखाना स्थापनाका लागि आवश्यक वातावरण तयार गर्ने योजना पनि समेटिएको छ। साथै युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न विभिन्न अवधिका सीपमूलक तालिम सञ्चालन गर्ने कार्यक्रम अघि सारिएको छ।
स्थानीय सरकारले संचालन गर्नेखालका पुलपुलेसा र टाेलबस्तीका याेजना समावेश गरि प्रतिनिधिसभा सदस्य उम्मेदवार पाण्डेले नितिभन्दा पनि याेजनाहरुमा काम गर्ने प्रतिवद्धतापत्र नेकपा कार्यालयले सार्वजनिक गरेकाे हाे ।