
धादिङ ।
स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले धादिङ अस्पतालले आफ्नै स्वामित्वमा बीमा फार्मेसी काउन्टर सञ्चालनमा ल्याएको छ ।
यस काउन्टरमार्फत बीमित बिरामीहरूले आवश्यक औषधिहरू सहज रूपमा अस्पताल परिसरमै प्राप्त गर्न सक्ने भएका छन् । धादिङ अस्पतालले स्वास्थ्य विमा गरेका विरामीलाई सहज रुपमा औषधी उपलीध गराउन टुट्टै फार्मेसी काउन्टर सञ्चालनमा ल्याएको हो ।
अस्पतालले शुरु गरेको नयाँ सेवाले बीमित बिरामीहरूलाई अस्पताल परिसरमै औषधि प्राप्त गर्न सहज बनाएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राधिका सापकोटाले बताउनु भयो ।
अस्पताल फार्मेसी सञ्चालनमा जनशक्ति अभाव, औषधि आपूर्ति, र व्यवस्थापन जस्ता चुनौतीहरू रहेपनि नागरिकलाई सहज रुपमा सेवा लिने वातावरण बनाउन छुट्टै बीमा फार्मेसी काउन्टर सञ्चालनमा ल्याएको अध्यक्ष सापकोटाको भनाइ छ । काउन्टर शुभारम्भ कार्यक्रममा अस्पतालका निर्देशक डा. गगनकुमार अधिकारीले छुट्टै बीमा फार्मेसी काउन्टर सञ्चालनले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको बताउनु भयो ।
अस्पतालले सेवा सुधारका लागि निरन्तर प्रयास गरिरहेको बताउँदै डा. अधिकारीले धादिङ अस्पतालको यो पहल स्वास्थ्य बीमा कार्यक्रमलाई जनमैत्री बनाउन र आम नागरिकलाई सरकारी स्वास्थ्य सेवामा विश्वास बढाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।