सडककाे लापरबाहीले झ्याप्लेखाेला ३५ सहित ३९ जनाको ज्यान गयो

सडककाे लापरबाहीले झ्याप्लेखाेला ३५ सहित ३९ जनाको ज्यान गयो

  • Kandara Samachar

  • सोमवार, अशोज १४, २०८१

  • 123
    SHARES
सडककाे लापरबाहीले झ्याप्लेखाेला ३५ सहित  ३९ जनाको ज्यान गयो

सीताराम अधिकारी

धादिङ ।

त्रिभुवन राजपथको झ्याप्लेखोलामा अविरल वर्षाका कारण गएको पहिरोले कति धनजनको क्षति भयो यकिन तथ्यांक आउन बाँकी छ। कति मानिस मारिए कति घाइते भए र कति सवारी साधन पुरिए राज्यसँग यकिन तथ्यांक नै छैन। तर, राजमार्ग निर्माणका क्रममा गरिएको गम्भीर लापरबाहीका कारण पहिरो गएर ३५ जनाले ज्यान गुमाउनुपरेको स्थलगत अध्ययनले स्पष्ट देखाउँछ।

तीन दिनदेखिको बाढीपहिरोका कारण धादिङ जिल्लामा ३९ जनाले ज्यान गुमाएका छन् । ओडारमा बसेको बेला दुई चेपाङले ज्यान गुमाए भने, मोटरसाइकलमा घर जान लागेकी ६ वर्षीया बालिकाले खोलाले बगाएर ज्यान गुमाइन् । आफ्नै घरको करेसामा आएको पहिरो सोहोर्न लाग्दा १ जनाले ज्यान गुमाएका छन् भने धुनीबेँसी नगरपालिका–९ झ्याप्ले खोलामा सवारी साधनमा पहिरोले पुर्दा ३५ जनाले ज्यान गुमाएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो।

झ्याप्लेखोला पहिरोले सवारी साधन पुरेर भएको घटनामा एक जना बालिका, ९ जना महिला र २५ जना पुरुष गरी ३५ जनाले ज्यान गुमाएका छन् ।

असोज ११ गतेदेखिको वर्षपछि झ्याप्ले खोलामा असोज १२ गते साँझ एउटा माइक्रोबस पुरिएजस्तो देखिएको थियो । त्यसलाई पछ्याउँदै पहिरो पन्छाउँदा तीन गाडी पुरिएको भेटिएका हुन्।

आइतबारसम्म खोजी गर्दा बुटवलबाट काठमाडौं आउँदै गरेको लु१ज ४५७८ नम्बरको माइक्रोबसमा १४ जना, चितवनबाट काठमाडौं आउँदै गरेको बा३ज १३४५ नम्बरको माइक्रोबसमा १६ र गोरखाबाट काठमाडौं आउँदै गरेको ना४ख २२७० नम्बरको बसमा ५ जनाको शव भेटिएको स्थानीय उद्धारकर्मी एवं धुनीबेँसी वडा नम्बर ९ का वडा सदस्य विक्रमजंग रानाले जानकारी दिनुभयो।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरेको र साँझ साढे सात बजेदेखि दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ ।

राजमार्ग फराकिलो पार्ने क्रममा झ्याप्ले खोलामा माथिल्लो सडक खारेको माटोसँगै विशाल पहिरो आएपछि लाइफलाइनको रूपमा मानिएको त्रिभुवन राजपथ बन्द भएको थियो । सडक निर्माणको ठेकेदार कम्पनीले जथाभावी माटो फाल्दा वर्षा लागेपछि पहिरो जाने क्रम भइरहेको बेला यो घटनामा ठूलो मात्रामा धनजनको क्षति हुन पुगेको रानाको भनाइ छ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले झ्याप्लेखोलामा मृतक यसबाहेक नभएको बताउँदै अब सडक सुधारमा ध्यान दिने जानकारी दिनुभयो । विकास गर्दा गरिनुपर्ने आधारभूत कुरा बेवास्ता गरेर गरिएको सडक निर्माणले सहजता ल्याउनभन्दा पहिला विनाश र क्षति ल्याएको सो क्षेत्रका सामाजिक अभियन्ता राजीव लामाको भनाइ छ।

सरकारले विपद् व्यवस्थापन पूर्वतयारीका लागि अनेकन तालिम र सेमिनार गरेर तयारी अवस्थामा राखिने निकायहरूले यस क्षेत्रको उद्धारमा मेसो नपाउँदा समेत ढिलो गरीमात्र सवारी साधन पुरिएको जानकारी पाएको थियो।

सुरक्षा निकायबीच समन्वयको अभाव, उद्धारमा काठमाडौंको डिम र धादिङको टिमले समन्वयसमेत नगरी यात्रु पुरिएको ठाउँभन्दा अन्यत्र नै खोजी गरेको थियो। सूचना प्रणालीसमेत नभएपछि विपद् व्यवस्थापनमा पूर्वतयारीका लागि राज्यले गरेको खर्चसमेत वालुवामा पानीसरह भएको स्थानीयबासीको भनाइ छ।

मानिसको मृत्यु, सवारी साधनको क्षतिमात्र होइन झ्याप्लेखोला क्षेत्रका एक दर्जन घर तथा पसलहरूसमेत पहिरोमा परेर नष्ट भएका छन् ।
(नेपाल समाचारपत्र दैनिकबाट)


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar