धादिङ ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कोषाध्यक्ष पदमा धादिङका व्यवसायी रुद्रबहादुर खत्री विजयी भएका छन् ।
हेटौंडामा चैत २३ र २४ गते सम्पन्न महासंघको ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचन–२०८२ अन्तर्गत भएको मतदानमा खत्रीले आफ्ना प्रतिस्पर्धी जीवनकाजी मकजु श्रेष्ठलाई पराजित गर्दै विजय हासिल गरेका हुन् ।
निर्वाचन परिणामअनुसार बेदबहादुर श्रेष्ठ समूहबाट उम्मेदवार बनेका खत्रीले १३२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी दुर्गाराज समूहका जीवनकाजी मकजु श्रेष्ठले ८२ मत प्राप्त गरेका छन् ।
नवनिर्वाचित कोषाध्यक्ष खत्री धादिङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत हुन्। उनले आफ्नो कार्यकालमा स्थानीय तहमा उद्योग तथा व्यापार प्रवर्द्धनका लागि विभिन्न पहलहरू अघि बढाएका थिए।
उनको यस अनुभवका आधारमा प्रदेश स्तरमा पनि प्रभावकारी वित्तीय व्यवस्थापन, पारदर्शिता तथा संस्थागत सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश समिति निजी क्षेत्रको साझा छाता संगठनका रूपमा परिचित छ। यसले उद्योग व्यवसायीहरूको हकहितको प्रतिनिधित्व गर्दै आर्थिक गतिविधि प्रवर्द्धन र व्यवसायिक वातावरण सुधारमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
यसै सन्दर्भमा, पछिल्लो निर्वाचनको परिणामले बागमती प्रदेशमा उद्योग तथा व्यापार क्षेत्रको विकास र सुदृढीकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।