धादिङ ।
पोखराबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक इभी हाइस धादिङको गल्छी गाउँपालिका–६ महेशदोभान नजिकै नागथानमा दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ भने ९ जना यात्रु घाइते भएका छन्।
बागमती प्रदेश ०१–००६ ख ७७९२ नम्बरको हाइस अनियन्त्रित भई सडकबाट करिब ३ मिटर तल कल्भर्टमा खसेको थियो। सोही क्रममा सडक किनारमा हिँडिरहेका गल्छी गाउँपालिका–६ निवासी ५० वर्षीय सीताराम अधिकारीलाई हाइसले ठक्कर दिँदै च्यापेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीलाई उद्धार गरी उपचारका लागि बैरेनी अस्पताल लगिएकोमा उपचारकै क्रममा राति चिकित्सकले मृत घोषणा गरेका थिए।
हाइसमा चालकसहित १० जना सवार रहेकामा ९ जना घाइते भएका छन्। घाइतेमध्ये लमजुङको मध्यनेपाल नगरपालिका–८ का ३० वर्षीय सजन गुरुङ, सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ का ३१ वर्षीय चन्द्र नाछिरिङ राई, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–४ का २७ वर्षीय नवराज चौलागाईं र २३ वर्षीय युवराज पौडेल, सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ का २९ वर्षीय भरत राई तथा भोजपुरको रामप्रसाद राई गाउँपालिका–१ का २३ वर्षीय सुरेन्द्र तामाङको बैरेनी अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै, कास्कीको पोखरा महानगरपालिका–३१ की तिला नेपाली, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–४ की ३३ वर्षीया सुनिता राई र कास्कीकै मादी गाउँपालिका–११ का ३९ वर्षीय राजकुमार ढकाललाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ।
दुर्घटनापछि हाइस चालकलाई प्रहरी चौकी बैरेनीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।