अभावका बीच टेन्टमुनीकाे दशैँ, बढीले बगाएकाे घरकाे माटाे भेटियाे, घर भेटिएन

अभावका बीच टेन्टमुनीकाे दशैँ, बढीले बगाएकाे घरकाे माटाे भेटियाे, घर भेटिएन

  • Kandara Samachar

  • मङ्लबार, कार्तिक ११, २०८३

  • 51
    SHARES
अभावका बीच टेन्टमुनीकाे दशैँ, बढीले बगाएकाे घरकाे माटाे भेटियाे, घर भेटिएन
oplus_2
✍️ सीताराम अधिकारी /धादिङ ।
 धादिङको गल्छी गाउँपालिका–६ बैरेनी–महेशदोभान क्षेत्रका बाढीपीडितका लागि यस वर्षको दसैँ खुसीभन्दा बढी पीडा र अभावबीच बितेको छ। भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीले घरबार र सम्पत्ति गुमाएका परिवारले भत्किएका घरका भग्नावशेषमाथि त्रिपाल र टेन्ट टाँगेर दसैँ मनाउन बाध्य भएका छन्।
भाेटेकाेसी त्रिशूली बाढीले बगाएकाे घरकाे माटाे भेटियाे । घर भेटिएन । घर बनाउने आशा जिवित छ तर सरकारकाे निर्णय नआउँदा विपदपछिकाे समस्या थपिएकाे छ ।
बाढीले क्षति पुर्‍याएको झन्डै दुई महिना पुग्न लाग्दासमेत प्रभावित क्षेत्रका कतिपय घरको भग्नावशेष सफा हुन सकेको छैन। कुनै समय परिवारसँगै बसेर चाडपर्व मनाउने घर अहिले बालुवा, माटो र ढुङ्गाले पुरिएका छन्। घरमा भएका सामान, लत्ताकपडा र वर्षौँको मेहनतले जोडेको सम्पत्ति गुमाएका परिवारका लागि अहिले सुरक्षित बास र दैनिक गुजारा चलाउनु नै सबैभन्दा ठूलो चुनौती बनेको छ।
राहतस्वरूप पाएको निलो त्रिपाल, एक–दुई बोरा चामल, सिरक, केही सरसफाइ सामग्री र लगाउने कपडाको भरमा उनीहरूले दसैँ कटाएका छन्। त्रिपालले घामपानीबाट केही राहत दिए पनि चिसोबाट जोगाउन सकेको छैन। चाडपर्वमा नयाँ कपडा किन्ने र घरमा मीठोमसिनो खाने सपना बोकेका उनीहरूलाई अहिले रात काट्ने सुरक्षित ठाउँकै चिन्ता छ। भत्किएको घर हेर्दै त्रिपालमुनि दसैँ मनाउनुपर्दाको पीडा शब्दमा व्यक्त गर्नसमेत कठिन छ।
यता, विपद्मा नपरेकाहरूले बाढीपीडितलाई दिइएको राहत धेरै भएको भन्दै टिप्पणी गर्ने गरेको प्रभावितहरूको गुनासो छ। सामान्य अवस्थामा रहेका परिवारले दसैँमा आफ्नो क्षमताअनुसार खाद्यान्न, लत्ताकपडा र घरायसी सामग्री किनेर घर लैजान्छन्। तर सर्वस्व गुमाएका परिवारलाई एक–दुई जोर कपडा, एक बोरा चामल वा केही थान भाँडाकुँडा सहयोग गर्दा पनि धेरै भएको ठान्नु कस्तो सोच हो भन्ने प्रश्न उनीहरूले उठाएका छन्।
विपद्मा परेकाहरूलाई सहयोग गर्नु कसैमाथि गरिएको उपकार मात्र होइन, मानवीय दायित्व पनि हो। आज अरूको घरमा परेको विपत्ति भोलि आफ्नै घरमा पनि आइपर्न सक्छ। त्यसैले पीडितले पाएको सहयोगको हिसाब खोज्नुभन्दा उनीहरूलाई कसरी सुरक्षित जीवनमा फर्काउन सकिन्छ भन्ने विषयमा ध्यान दिन आवश्यक छ।
बाढीपछि अस्पताल सञ्चालनमा आएको छ भने विद्यालय पनि अन्यत्र स्थानान्तरण गरेर पुनः सञ्चालन गरिएको छ। तर घर र सम्पत्ति गुमाएर विस्थापित भएका नागरिकको जीवन अझै सामान्य बन्न सकेको छैन। उनीहरूका लागि न पुनःस्थापनाको ठोस कार्यक्रम आएको छ, न घर पुनर्निर्माणको स्पष्ट आधार नै तयार भएको छ। तत्कालीन राहतले केही दिनको आवश्यकता पूरा गरे पनि घरबारविहीन परिवारको दीर्घकालीन समस्या समाधान गर्न सकेको छैन।
बाढीपीडितलाई चामल, कपडा र भाँडाकुँडा उपलब्ध गराउनु आवश्यक भए पनि त्यतिले मात्र उनीहरूको जीवन पुनःनिर्माण हुन सक्दैन। सुरक्षित आवास, घर पुनर्निर्माणमा सहयोग र जीविकोपार्जनको व्यवस्था अहिलेको मुख्य आवश्यकता हो। स्थानीय तहदेखि प्रदेश र संघीय सरकारसम्मका सम्बन्धित निकायले प्रभावित परिवारको अवस्थालाई गम्भीरतापूर्वक लिएर पुनःस्थापनाका कार्यक्रम अघि बढाउन जरुरी छ।
दसैँ सकिएला, चाडपर्वको रौनक पनि हराउँदै जाला, तर बाढीपीडितको पीडा अझै सकिएको छैन। अरूका घरमा खुसी छाउँदा उनीहरू भने त्रिपालमुनि बसेर आफ्नो घर कहिले बन्ला भन्ने प्रतीक्षामा छन्। उनीहरूका लागि दसैँको वास्तविक खुसी नयाँ कपडा र मीठोमसिनोमा होइन, परिवारसहित सुरक्षित छानोमुनि बस्न पाउने दिनमा छ। अब प्रश्न राहत धेरै भयो कि भएन भन्ने होइन, सर्वस्व गुमाएका नागरिकलाई सुरक्षित आवास र सम्मानजनक जीवनमा फर्काउन सरकारले कहिले ठोस कदम चाल्छ भन्ने हो।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar