प्रवासी नेपाली मञ्च पूर्वी एसिया महादेशीय कमिटीको अध्यक्षमा कुलचन्द्र खरेल निर्वाचित

प्रवासी नेपाली मञ्च पूर्वी एसिया महादेशीय कमिटीको अध्यक्षमा कुलचन्द्र खरेल निर्वाचित

  • Kandara Samachar

  • मङ्लबार, कार्तिक ११, २०८३

  • 66
    SHARES
प्रवासी नेपाली मञ्च पूर्वी एसिया महादेशीय कमिटीको अध्यक्षमा कुलचन्द्र खरेल निर्वाचित

धादिङ  ।

प्रवासी नेपाली मञ्च, पूर्वी एसिया महादेशीय कमिटीको प्रथम अधिवेशनबाट जापानमा रहेर लामो समयदेखि प्रवासी नेपालीहरूको संगठनात्मक अभियानमा सक्रिय कुलचन्द्र खरेल अध्यक्षमा निर्वाचित भएका छन्।

अक्टोबर २५ देखि २७ सम्म सम्पन्न प्रथम अधिवेशनले खरेलको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। जापानमा प्रवासी नेपाली मञ्चको उपाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारी सम्हालिसकेका खरेलले अब पूर्वी एसियाका विभिन्न मुलुकमा रहेका नेपालीहरूलाई संगठित गर्ने महत्त्वपूर्ण जिम्मेवारी पाएका छन्।

नवनिर्वाचित कमिटीको उपाध्यक्षमा कृष्ण खड्का, सचिवमा प्रकाश ढकाल तथा उपसचिवमा राधिका क्षत्री र सुजन ज्ञवाली चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा देवमान वाइवा, शालिक बगाले मगर, श्यामकुमार गुरुङ, पदमबहादुर गुरुङ, सुनिल कन्दवा, मनिराम गौतम, डिल्ली न्यौपाने, हेमप्रसाद भट्ट (सन्तोष), लेखबहादुर खत्री र गोरख खवास निर्वाचित भएका छन्। अन्य सदस्यहरूमा मातृका खतिवडा, राजेन्द्र श्रेष्ठ, विकास पौडेल, मधुराम लामिछाने, नारायण पौडेल र दीपेन्द्र गौतम रहेका छन्।

अध्यक्ष खरेल जापानमा नेपाली समुदायबीच संगठन निर्माण र विस्तारमा सक्रिय खरेलको नेतृत्व यात्रा सन् २०१६ देखि थप उचाइमा पुगेको हो। त्यस वर्ष उनी प्रवासी नेपाली मञ्च जापानको उपाध्यक्षमा निर्वाचित भएका थिए। उपाध्यक्षको जिम्मेवारी सम्हाल्दा उनले जापानका विभिन्न क्षेत्रमा रहेका नेपालीहरूसँग सम्बन्ध विस्तार गर्दै संगठन सञ्चालनको अनुभव हासिल गरेका थिए।

संगठनमा निरन्तर सक्रिय रहेका खरेल सन् २०२२ सेप्टेम्बरमा टोकियोको कामातामा सम्पन्न प्रवासी नेपाली मञ्च जापानको २१औँ राष्ट्रिय अधिवेशनबाट सर्वसम्मत अध्यक्ष निर्वाचित भएका थिए। प्रतिनिधि छनोटका विषयमा देखिएका असहमतिबीच सबै पक्षलाई समेटेर नेतृत्व चयन हुनुले उनको समन्वयकारी भूमिकालाई थप स्थापित गरेको थियो।

जापानको अध्यक्षको जिम्मेवारी सम्हालेपछि खरेलले संगठनलाई नेपाली समुदायका समस्या र सरोकारसँग जोड्ने प्रयास गरेका थिए। प्रवासी नेपालीहरूले भोग्नुपरेका चुनौती, उनीहरूको हकहित तथा नेपाल सरकारबाट अपेक्षित सहयोगका विषयमा छलफल र प्रशिक्षण कार्यक्रम सञ्चालनलाई उनले प्राथमिकता दिएका थिए।

सन् २०२५ जनवरीमा जापानका नागोया, टोकियो र ओकिनावामा आन्तरिक प्रशिक्षण तथा खुला छलफल कार्यक्रम आयोजना गर्ने योजना सार्वजनिक गरेका खरेलले संगठनात्मक गतिविधिसँगै प्रवासी नेपालीका साझा समस्यालाई बहसको विषय बनाउने प्रयास गरेका थिए।

तीन वर्षे कार्यकाल पूरा गरेपछि जापानको नेतृत्व नयाँ कार्यसमितिलाई हस्तान्तरण गर्ने प्रक्रियामा सहभागी भएका खरेलले अहिले पूर्वी एसिया महादेशीय कमिटीको नेतृत्व सम्हाल्ने अवसर प्राप्त गरेका हुन्।

जापानको उपाध्यक्षदेखि राष्ट्रिय अध्यक्ष हुँदै महादेशीय अध्यक्षसम्म पुगेको उनको संगठनात्मक यात्रालाई प्रवासी नेपाली समुदायमा निरन्तर सक्रियता, समन्वय र नेतृत्व विकासको उदाहरणका रूपमा हेरिएको छ।

पूर्वी एसियाका विभिन्न देशमा रहेका नेपालीहरूको हकहित संरक्षण, संगठन विस्तार, नेपाली भाषा र संस्कृतिको प्रवर्द्धन तथा मातृभूमिसँगको सम्बन्ध सुदृढ बनाउने जिम्मेवारी नयाँ नेतृत्वसामु रहेको छ।

विशेषगरी वैदेशिक रोजगारी, व्यवसाय र अध्ययनका सिलसिलामा पूर्वी एसियामा रहेका नेपालीहरूले भोगिरहेका समस्या सम्बोधन गर्न साझा पहल आवश्यक रहेको अवस्थामा महादेशीय कमिटीको गठनलाई महत्त्वपूर्ण मानिएको छ।

खरेलको नेतृत्वमा गठित नयाँ कार्यसमितिले विभिन्न मुलुकमा क्रियाशील संगठनबीच समन्वय बढाउँदै प्रवासी नेपालीहरूको साझा आवाजलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। जापानमा हासिल गरेको संगठनात्मक अनुभवलाई महादेशीय तहमा उपयोग गर्दै सबैलाई समेटेर अघि बढ्नु खरेलको आगामी कार्यकालको प्रमुख चुनौती र अवसर दुवै हुनेछ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar